अवरोध छिचोल्दै प्रसारण लाइन

  भदौ १३, २०७७

भैरहवा, भदौ १३ : बुटवलबाट भैरहवा–लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत् प्रसारण लाइन चार महिनामा पूरा हुने भएको छ । बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार महिनाभित्रै प्रसारण लाइन बन्ने जनाएको छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोर लगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो । चार वर्षअघि प्रसारण लाइनको विस्तार थालिए पनि स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको हो । हालसम्म आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो ।

योगीकुटीबाट सबस्टेसन रहेको मैनहियासम्म विद्युत् पु¥याउन ५६ वटा विद्युत् पोल गाड्नुपर्छ । अहिलेसम्म ३४ वटा पोलका लागि फाउन्डेसन बनेको छ । अब बाँकी २२ वटाको फाउन्डेसन पनि छिट्टै बन्ने पाण्डेको भनाइ छ । सबस्टेसनको बाँकी काम र ट्रान्समिसनको काम बाँकी रहेको उहाँले बताउनुभयो । “टावरबाहेक अरू सबै सामान आइसकेको छ, ३४ वटा फाउन्डेसन तयार भएका छन्, बाँकी २२ वटा फाउन्डेसन पनि छिटै बन्दै छन्,” उहाँले भन्नुभयो ।

एक अर्ब २० करोड लागतको यो आयोजना तीन वर्षभित्र सक्ने लक्ष्य भए पनि चार वर्षसम्म पूरा हुन सकेको छैन । विद्युत् विस्तारका लागि जग्गा प्राप्ति र रुट विवादले काम हुन सकेको थिएन तर अहिले सबै विवाद टुङ्गिएको छ र बन्दाबन्दीका बीचमा पनि काम निरन्तर अगाडि बढिरहेको छ, आयोजना प्रमुख पाण्डेले भन्नुभयो ।

औद्योगिक र पर्यटकीय क्षेत्रमै १३२ केभी विद्युत् लाइन नहुँदा उद्योगीले समस्या भोगेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद लामिछानेले बताउनुभयो । प्रसारण लाइन बनेपछि समस्या समाधान हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७२-७३ मा बुटवलको योगीकुटीबाट तिलोत्तमा हुँदै मैनहियासम्म लैजाने गरी आयोजना सुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकको किनारमा मोनोपोल (सिङ्गल पोल) राख्ने तयारी थियो ।

तिलोत्तमावासीले सडक छेउबाट विद्युत् लैजाँदा मानवीय जोखिम हुने भन्दै मोनोपोल विस्तार गर्न दिएनन् । जसका कारण प्रसारण लाइन विस्तारको काम दुई वर्षसम्म रोकियो । सडकको सट्टा तिनाउ नदीको किनारबाट रुट तय गरेर गत वर्षदेखि विद्युत् विस्तार थालिए पनि स्थानीयवासीले फेरि अवरोध गरे । त्यो अवरोध पनि अब सहमतिमा टुङ्गिएकाले आयोजना पूरा हुने अवस्थामा आइपुगेको आयोजना प्रमुख पाण्डेले बताउनुभयो ।

यस रुटमा सामुदायिक संस्था र सामुदायिक वनले समेत पोल गाड्ने जग्गा नदिँदा आयोजनाले केही महिना समस्या झेलेको थियो । व्यक्तिगत जग्गा मात्र होइन, सरकारी जग्गामा समेत सामुदायिक वनका नाममा विस्तारमा अवरोध गरिँदा आयोजना पछाडि धकेलियो, उहाँले भन्नुभयो । लुम्बिनी कोरिडोरका उद्योगलाई प्राधिकरणले माग गरेअनुसार विद्युत् दिन सकिरहेको छैन । विद्युत् लोडकै कारण भैरहवा र लुम्बिनी क्षेत्रमा आपूर्ति नियमित हुन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया