रानीपोखरीको ८५ प्रतिशत काम सम्पन्न

  भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : कोरोना भाइरस विरुद्धको बन्दाबन्दी तथा निषेधाज्ञामा समेत रानीपोखरी पुुनर्निर्माणको काम निरन्तर अगाडि बढेका कारण अहिले ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न शुक्रबार रानीपोखरी परिसर पुग्नुभएका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको हो ।

राज्यमन्त्री मानन्धरले रानीपोखरी कोभिड–१९ को महामारीमा पनि पुनर्निर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताउनुभयो । महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरूकै राय–सुझाव अनुसार प्रताप मल्लकालीन स्वरूप, शैली र निर्माण सामग्रीको प्रयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउनुभयो ।

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले २०७५ साल फागुन २० गतेबाट पुनर्निर्माणको काम सुरु गरेको भन्दै मौलिक रूपमा उभ्याउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँका अनुसार प्राकृतिक स्रोतबाट पोखरी भर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया