दैलेख, भदौ १२ : पिसिआर प्रयोगशालामा जनशक्ति अभाव हुदाँ पिसिआर परीक्षणमा समस्या भएको छ । जिल्ला अस्पताल दैलेखमा रहेको प्रयोगशालामा आवश्यक भन्दा कम जनशक्ति भएका कारण रिर्पोट आउन ढिला हुने गरेको छ । जनस्वास्थ्य प्रयोगशालाले बनाएको मापदण्ड अनुसार पीसीआर परीक्षणका लागि एकपटकको परीक्षणका लागि कम्तिमा तीनदेखि चारजना दक्ष चिकित्सक आवश्यकता पर्ने भए पनि दैलेखमा तीनजना प्राविधिक टोलीले काम गरिरहेको जिल्ला अस्पताल दैलेखले जानकारी दिएको छ ।
दैलेख अस्पताल प्रयोगशालाका इन्चार्ज शंकर शाहीले जनशक्ति अभावका कारण पिसिआर परीक्षणमा समस्या भएको बताउनुभयो । उहाँले तीन जना प्राविधिक टोलीले काम गर्दै आएको भए पनि आफूहरुले दैनिक दुई सिफ्टमा काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रयोगशालामा काम गर्दा दैनिक दुई सिफ्टमा कोरोना परीक्षण गर्दा १२ घण्टा पिपिई लगाएर बस्न समस्या भए पनि आफूहरुले रातदिन नभनेर काम गरेको बताउनुभयो ।
उहाँका अनुसार पिसिआर परीक्षण गर्दा संकलन गरिएको नमूनालाई आधिकारिक प्रयोगशालामा ल्याएपछि त्यसलाई दुई चरणमा परीक्षण गरिन्छ । पहिलो चरण भनेको आरएनए एक्सट्रयाक्सन हो जसमा दुईजना दक्ष जनशक्ति चाहिन्छ । आरएनए एक्सट्रयाक्सन गर्न नमूनाको संख्या अनुसार ६ घण्टा देखि ८ घण्टा लाग्छ भने दोस्रो चरणमा एक्सट्रयाक्सन गर्न यो आरएनए लाई विभिन्न रसायनसँग मिलाएर पिसिआर परीक्षणका लागि तयार गरिन्छ । जसलाई मास्टर मिक्स टेम्पेलट एडिसन भनिन्छ त्यसपछि मात्र पिसिआर मेसिनमा टेष्टको लागि राखिन्छ । मेसिनमा राखेको दुई घण्टा पछि रिर्पोट आउँछ । आएको रिर्पोटलाई दक्ष जनशक्तिले त्यसको अन्तिम रिर्पोट निकाल्नुपर्ने हुन्छ । अहिले पाँचसय भन्दा बढी स्वाब प्रयोगशालामा थन्किएको छ ।
समन्वय नहुँदा समस्या
कोरोना सङ्क्रमणको हटस्पट भएपछि स्थापना भएको प्रयोगशालामा दैनिक पिसिआर परीक्षण गरे पनि स्थानीय तहको समन्वय अभावका कारण समस्या हुने गरेको छ । प्रयोगशालाका इन्चार्ज शंकर शाहीले स्थानीय तहले प्रयोगशालासँग समन्वय नगरेर धमाधम स्वाबहरु संकलन गरेर ल्याउने गरेका कारण समयमै रिर्पोट आउन नसेको बताउनुभयो । उहाँले दैनिक ९६ जना जतिको पिसिआर परीक्षण गर्नसकिने भए पनि दैनिक पाँचसय भन्दा बढी स्वाबहरु आए पनि रिर्पोट आउन समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहले समन्वय नगरेका कारण कहिले १० वटा मात्र स्वाब हुने, कहिले खाली बस्नुपर्ने र कहिले बढी आउने गरेको छ ।
पाइएन जोखिम भत्ता
कोरोना भाइरस सङ्क्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि सरकारले जोखिम भत्ता दिए पनि दैलेख प्रयोगशालामा काम गर्ने प्राविधिक टोलीले जोखिम भत्ता पाउन सकेको छैन । प्रत्येक प्रयोगशालामा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता बापतको रकम आइसक्दा पनि कुन कार्यालय बाट भत्ता दिने हो त्यसको टुंगो नलागेको त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन । यसअघि असारसम्मको भत्ता ती कर्मचारीहरुले पाएका थिए । प्रयोगशालाका इन्चार्ज शंकर शाहीले भत्ता र खानाको व्यवस्थापनका लागि कुरा गर्दा नारायण नगरपालिका दैलेख र स्वास्थ्य सेवा कार्यालय दैलेखले एक अर्कालाई भन्दै पन्छिने गरेको बताउनुभयो ।
काज फिर्ता भए प्रयोगशाला बन्द
दैलेखमा पिसिआर मेसिन जडानसँगै परीक्षणका लागि प्रयोगशालामा बसेका स्वास्थ्यकर्मीको करार सम्झौता सकिन लाग्दा समेत कुनै निकायले पहल नगर्दा प्रयोगशाला नै बन्द हुने अवस्थामा रहेको छ । प्रयोगशालाका प्रमुख शंकर शाही प्रदेश जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश बाट तीन महिना काजमा आएको र उहाँको काज भदौ ३० गते सकिने र उहाँ फर्केपछि प्रयोगशाला नै बन्द हुने अवस्था आउने निश्चित भएको छ । प्रयोगशालामा काम गर्ने शंकर शाहीको तीन महिना काज सकिने र स्वास्थ्य सेवा कार्यालयबाट खटाएका दीलिप केसीकोसमेत काज असारमा सकिँदा समेत सरोकारवाला निकायले चासो नदिँदा प्रयोगशाला बन्द हुने अवस्थामा पुग्ने निश्चित भएको बताइएको छ ।






