कार्यदलको प्रतिवेदनमाथि टिप्पणी गरेको छैन : नेपाल

  भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कार्यदलले बुझाएको प्रतिवेदनमाथि आफूले कहीँ कतै केही टिप्पणी नगरेको प्रष्ट पार्नुभएको छ । केही मिडियामा आएको समाचार मनगढन्ते र चरित्रहत्या गर्नेगरी आएको उहाँले प्रष्ट पार्नुभएको छ ।

नेता नेपालले आफ्नो सचिवालयमार्फत बिहीबार धारणा सार्वजनिक गर्नुहुँदै भन्नुभएको छ, “नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टिप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको कुरा सत्य होइन ।”

“दुःखद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर मेरो चरित्र हत्या गरी आत्मसन्तुष्टि लिने नियोजित कोसिस भएको छ” नेता नेपालले प्रेस नोटमा भन्नुभएको छ, “विगत लामो समयदेखि पार्टीमा विधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई मैले उठाउँदै आएको हुँ ।”

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको प्रेस नोटमा भनिएको छ, “सचिवालय बैठकबाट अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना जे गर्नुपर्ने हो, गर्छु, अहिले बाहिर गरिएका नियोजित हल्ला एवम् अफवाहमा नपर्न सबैमा सादर अनुरोध गर्दछु ।”

तपाईको प्रतिक्रिया