काठमाडौं, भदौ १० : पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको छ ।
गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु
भक्तपुर- सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए ।
गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । थाइराइडको उपचारका लागि गएकी ती महिलामा अस्पतालमै संक्रमण भएको हुन सक्ने थापा बताउँछन् । महिलाको परिवारका सात सदस्यको पीसीआर परीक्षणका लागि मंगलबार नै नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरिसकेको उनले जानकारी दिए ।
बाराका थप दुई जना कोरोना संक्रमितको मृत्यु
वीरगन्ज- नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका थप दुई जना कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।
डा. चौरसियाका अनुसार ७० वर्षीय पुरुषमा श्वासप्रश्वास, निमोनिया, उच्च रक्तचापलगायतको समस्या देखिएको थियो । गत भदौ २ गते भर्ना भएका ती वृद्धको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको डा.चौरसियाले बताए ।
यसैगरी छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजेको मृत्यु भएको हो । डा. चौरसियाका अनुसार मिर्गौलाका बिरामी रहेका ती पुरुष मंगलबार नै कोरोना अस्पतालमा भर्ना भएका थिए । यसअघि मंगलबार बिहान बाराकै दुईजना संक्रमितको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा मृत्यु भएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।
सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
धनगढी- सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराईसकेको उनले दिनेश खवरलाई जानकारी दिए । हिजो साँझसम्म उनको धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार भईरहेको थियो भने कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।
यसैबीच मंगलबार राति नै बाँकेमा पनि कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।






