‘सांस्कृतिक परम्पराले एकता थप बलियो’

  भदौ १०, २०७७

काठमाडौंँ, भदौ १० : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा गौरा पर्वको शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट बच्न पर्याप्त सुरक्षा अपनाएर यस चाडको मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न अनुरोध गर्नुभएको छ ।

गौरा पर्वको हार्दिक शुभेच्छा व्यक्त गर्दै राष्ट्रपतिले भन्नुभएको छ, “गौरा पर्वजस्तो विशिष्ट सांस्कृतिक चाडका माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीबीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुगोस् ।”


हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरीको आराधना गरी मनाइने गौरा पर्व नेपालको एक महìवपूर्ण सांस्कृतिक चाड हो । गौरा पर्वलाई मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा मनाइने चलन छ । यस पर्वमा कामविशेषले परदेश गएका घर फर्कने, विवाहिता महिला माइत जाने, पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादका रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेलेर रमाइलो गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया