उपत्यकाका प्रजिअको बैठक : निषेधाज्ञाबारे कुनै निर्णय भएन, बुधबार पुन: बस्ने

  भदौ ०९, २०७७

काठमाडौं, भदौ ९ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न आज बसेकाे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ । दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र भोलि विहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले बताउनुभयो ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टले पनि आजको बैठकबाट निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र भोलि पुनः बैठक बस्ने बताउनुभयो । यसअघि यही भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले त्यसलाई रोक्न उक्त निर्णय गरिएको थियो ।

यसअघि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भने समय थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो ।

तपाईको प्रतिक्रिया