नेकपाका दुई अध्यक्षबीच बैठक, प्रतिवेदनमाथि छलफल हुँदै

  भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच वार्ता शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेदेखि वार्ता शुरु भएको बालुवाटार स्रोतले बताएको छ ।

नेकपाद्वारा गठित कार्यदलले गत शनिबार प्रतिवेदन बुझाएपछि तीन दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल शुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार दुई अध्यक्षबीच वार्ता जारी छ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षबीच छलफल भएपछि सचिवालय बैठकमा प्रतिवेदन छलफलका लागि लग्ने तयारी अध्यक्षद्वयको छ ।

सचिवालयपछि स्थायी कमिटी बैठकमा समेत छलफलका लागि कार्यदलको प्रतिवेदन लग्ने बताइएको छ । कार्यदलले आठ दिन लगाएर १६ बुँदे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । प्रतिवेदनअनुसार अध्यक्ष ओली प्रधानमन्त्रीमा पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री रहने र अर्का अध्यक्ष प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष भएर पार्टीको जिम्मेवारी निर्वाह गर्ने प्रस्ताव गरेको छ । यसअघि उपाध्यक्ष बामदेव गौतमले पनि साउन १३ गतेको स्थायी कमिटीका सदस्यहरूको भेलामा सोही प्रस्ताव गर्नुभएको थियो ।

सोहीअनुसार पार्टीभित्र गुट उपगुट झाङ्गिएपछि पार्टीमा समस्या उत्पन्न भएको भन्दै कार्यदलले पार्टीको अनुशासन विभागलाई सक्रिय बनाई गुटगत भेला रोक्ने प्रयासमा लाग्नुपर्ने सुझाव दिएको छ । यसबारेमा स्थायी कमिटी बैठकमा छलफल हुनसक्ने नेताहरूको भनाइ छ । आजको दुई अध्यक्षबीचको छलफलले सचिवालय बैठक बोलाउने विषयमा निर्णय गर्नसक्ने बताइन्छ  । 

तपाईको प्रतिक्रिया