नेकपा विवाद : प्रतिवेदनले सकारात्मक सन्देश

  भदौ ०९, २०७७

काठमाडौंँ,  भदौ ९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न बनाइएको कार्यदलले दिएको सुझावबाट पार्टीमा सकारात्मक सन्देश गएको उच्च तहमा विश्लेषण गरिएको छ । नेकपा पार्टीमा नेतृत्व, सङ्गठन, सरकार, सिद्धान्त र विचारलाई लिएर विगत दुई महिनादेखि विवाद चलिरहेको थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा गठित कार्यदलले दिएको सुझावका आधारमा विवादको निकास निस्कने विश्वास नेताले व्यक्त गर्नुभएको छ । पार्टीका प्रवक्तासमेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले निकासका निम्ति अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदलका कारण सबैतिर सकारात्मक सन्देश गएको बताउनुभयो ।

यसले निकास निस्कनेमा सबै आशावादी भएको धारणा व्यक्त गर्दै उहाँले बाँकी विषयमा भने पार्टीका आगामी बैठक कुर्नुपर्ने बताउनुभयो । उहाँले कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गर्ने काम भइरहेको छ । अध्ययनपछि सचिवालय हुँदै स्थायी कमिटीमा समेत त्यसबारे छलफल गरी अन्तिम निष्कर्ष निकालिनेछ भनी स्पष्ट पार्नुुभयो ।

कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई अध्यक्षद्वयले अध्ययन गरिरहनुभएको छ । अध्ययनपछि बस्ने बैठकले त्यसबारे आधिकारिक धारणा ल्याउने पार्टी संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताउनुभयो । पार्टीमा निकास दिन पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डले कार्यदल बनाउने निर्णय गर्नु नै आफैँमा सकारात्मक भएको भन्दै उहाँले अध्यक्षद्वयले निकास दिन जिम्मेवारीपूर्वक लाग्नुथियो र यसले पार्टीमा सकारात्मक सन्देश दिएको छ भन्नुभयो ।

नेता नेम्वाङले दुवै अध्यक्षले प्रतिवेदन बुझ्नुभएको छ । प्रतिवेदन अध्ययनपछि पुनः दुवै अध्यक्ष बसेर छलफल गरी त्यसलाई सचिवालय बैठकमा प्रस्तुत गर्नुहुन्छ । सचिवालयमा छलफल भएपछि जारी स्थायी कमिटीको बैठकमा प्रतिवेदन प्रस्तुत हुन्छ । सुझावमाथि छलफल हुनेछ र अन्तिम निर्णय हुन्छ भन्दै स्पष्ट पार्नुुभयो ।

उहाँले कार्यदलले धेरै मिहिनेत गरेर प्रतिवदेन तयार पारेको छ । कार्यदलले पार्टीलाई निकास दिन गृहकार्य ग¥यो । प्रतिवेदनले निकास दिनेमा आशा पलाएको छ । पार्टी फुट्दैछ भन्ने भ्रम छर्ने काम भएको र त्यसलाई प्रतिवेदनले जवाफ दिएको भन्नुभयो । उहाँले यो प्रतिवेदनले पार्टीमा
देखिएका हरेक विवाद समाधान गर्ने विश्वास आफूले लिएको स्पष्ट पार्नुभयो ।

पार्टी विवाद समाधान गर्न गत साउन ३० गते पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलमा स्थायी कमिटीका सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल हुनुहुन्थ्यो । अध्यक्षद्वयबीच मङ्गलबार प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ । 

तपाईको प्रतिक्रिया