पोखरा, भदौ ८ : तपाईं रक्तदान गर्न इच्छुक हुनुहुन्छ ? हुनुहुन्छ भने अब रक्तदान गर्न कुनै कार्यक्रम पर्खनु पदैन, घरबाटै रक्तदान गर्न सक्नुहुन्छ । फोन गर्नुहाेस् तपाईंको घरअगाडि रक्त सङ्कलन गर्न एम्बुलेन्स बस आउँछ । त्यही एम्बुलेन्स बसमा बसेर रक्तदान गर्न सक्नुहुन्छ । आवश्यक सामग्री र स्वास्थ्यकर्मीको एम्बुलेन्समै हुन्छन् ।
रक्तदान गर्न कुनै सार्वजनिक कार्यक्रममा जानुपर्ने बाध्यता हटेको छ । पोखरामा नेपाल रेडक्रस सोसाइटी कास्कीले आकस्मिक रक्तदान एम्बुलेन्स सञ्चालनमा ल्याएपछि जुनसुकै बेला पनि रक्तदान गर्न पाइने भएको छ । रेडक्रसले गत चैत ६ गतेबाट उक्त एम्बुलेन्स सेवाको सुरुवात गरेको नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले बताउनुभयो ।
‘बसमा रक्तदान गराएर रगत सङ्कलन गदैआएका छौँ’ उहाँले भन्नुभयो, ‘महिनामा ७५० देखि ८ सयसम्म युनिट रगत सङ्कलन भइरहेको छ ।’ रगत सङ्कलनका लागि शहरी क्षेत्रमात्रै नभएर ग्रामीण क्षेत्र र अन्य जिल्लामा समेत पुगेको उहाँले बताउनुभयो ।
उक्त एम्बुलेन्समा एकै पटकमा चार जनाले रक्तदान गर्न मिल्ने रेडक्रस सोसाइटी कास्कीका सदस्य सन्तोष अधिकारीले बताउनुभयो । ‘ग्रामीण भेगमा पनि पुगेर रगत सङ्कलन गरेर ल्याएका छौँ’ सदस्य अधिकारीले भन्नुभयो, ‘ग्रामीण क्षेत्रका वडाका टोलटोलबाट एकै दिन १२० युनिट रगत सङ्कलन गरेर ल्याएका छौँ ।’ छिमेकी जिल्ला तनहुँ, स्याङजासम्म पुगेर रगत सङ्कलन गरिएकाे उहाँले बताउनुभयाे । ‘अब हामी म्याग्दी, पर्वत, बाग्लुङ, गोर्खामा जाने योजना बनाएका छौँ ।’ उहाँले भन्नुभयाे ।
पोखरा महागनरबाहेक कास्कीकै अन्नपूर्ण गाँउपालिकाको ढिकुरपोखरी, माछापुच्छ्रे गाँउपालिकाको सार्दिखोला, पोखरा महानगरको बाघमारालगायत ग्रामीण क्षेत्रमा आगामी हप्ता रगत सङ्कलनमा जाने तयारी गरिहेकाे मन्त्री अधिकारीले भन्नुभयो । यो अभियानले कोरानो सङ्क्रमणपछि पनि निरन्तरता दिने रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।
रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रमा अत्यन्तै न्यून सङ्ख्यामा रगत मौज्दात रहेको जनाएको छ तर कास्कीमा त्यस्तो अवस्था छैन ।
रक्तसञ्चार केन्द्रमा आगामी दुई-तीन दिनलाई पुग्नेबाहेक रगत नरहेको र केही दिनमा रगत अभाव हुने देखिएकाले दुई वा दुईभन्दा बढी व्यक्तिले रक्तदान गर्न चाहेमा सम्बन्धित व्यक्ति रहेकै ठाउँमा रक्त सङ्कलन एम्बुलेन्स बस पुगेको छ मन्त्री धर्मराज अधिकारीले बताउनुभयो ।
त्यसै गरी व्यक्तिगत रुपमा रक्तदान गर्न चाहनेहरूलाई प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको र रक्तदातालाई कुनै पनि अवरोध नहुने भएकाले सुरक्षित तरिकाले क्षेत्रीय रक्तसञ्चार सेवासम्म लैजाने र फर्कने व्यवस्थासमेत मिलाइएको छ ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरासहित अन्य जिल्लाका बिरामीसमेत पोखरा आउने भएकाले रगत अभाव हुनसक्ने भएकाले एम्बुलेन्स बसलाई घरघरमै पुर्याउने गरिएको छ । गण्डकीका अन्य जिल्लाबाट समेत बिरामी रेफर भएर पोखरा आउने गरेकाले यहाँ रगतको माग उच्च हुने गरेको छ । रक्त सञ्चार केन्द्र पोखराबाट दैनिक ७० युनिट रगतको माग हुने गरेको छ । पोखरामा ए बी पोजेटिभ रगत भने अभाव रहेको उहाँले बताउनुभयो ।
रक्तदानका कार्यक्रम नहुँदा रक्तसञ्चार सेवा केन्द्रमा रगत अभावकाे अवस्था आउनसक्ने र सुत्केरी महिला तथा मिर्गौला, डाइलासिसका बिरामी प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राखी दुई वा सोभन्दा बढी व्यक्तिले रक्तदानको इच्छा गरेमा एम्बुलेन्स बस पठाउने गरिएको रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो ।
‘साउनमा रक्तदान कार्यक्रम भएकाले त्यही मौज्दात रगतबाट अहिलेसम्म कसैलाई समस्या परेको छैन’ ज्ञवालीले भन्नुभयो, “हामीसँग भदौ १० सम्म पुग्ने रगत छ, अब रक्तदान कार्यक्रम स्थगित नगर्नुहोस् र सचेत रक्तदाताले रक्तसञ्चारमा आएर भएपनि रगत दिनोस् भनेका छौँ ।”