काठमाडौँ, भदौ ८ : देशमा जबजब समस्या र विपत्ति आइलाग्छ, अगाडिको मोर्चामा काम गर्ने सुरक्षा निकाय नै हुन्छन् । देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । देशका धेरै स्थानमा सुरक्षाकर्मीका लागि खाने लागाउन तथा बस्ने स्थानमा न्यूनतम् पूर्वाधारको समेत अभाव रहेका बेला यसमा समयमै सुधार नगरे अवस्था जटिल हुनसक्ने बताइएको छ ।
केही सुक्षा निकायले सुरक्षाकर्मीको कार्यस्थलदेखि ब्यारेकसम्मका गतिविधिमा कडाइ गरे पनि त्यो मात्र पर्याप्त हुने बताइन्छ । नेपाल प्रहरीका पूर्वडीआइजी केशव अधिकारी सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण धेरैमा सर्ने प्रमुख कारण उनीहरूको बासस्थानदेखि पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षाका लागि चाहिने सामग्रीको अभाव भएको बताउनुहुन्छ ।
सरकारले सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमणबाट जोगाउन प्रर्याप्त साधन स्रोतदेखि सामाजिक दूरीसहितको सुत्ने व्यवस्था गर्न आवश्यक रहेको अधिकारी बताउनुहुन्छ ।
भोलिको दिनमा यस्ता किसिमका समस्या सुधार्न नसके भयाभह स्थिति आउनसक्ने खतरा रहेको उहाँले बताउनुभयो । कतै ब्यारेकमा एउटै बेडमा तीन जनासम्म सुत्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा स्वाभाविक रुपमा जोखिम बढी हुन्छ ।
आजसम्म सशस्त्र र नेपाल प्रहरीका कुल एक हजार दुइ सय जना सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएकाे छ । नेपाल प्रहरीका ५५१ र सशस्त्रका चार सय जना र नेपाली सेनामा तीन सय सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत, प्रहरीको काम जनतासँग प्रत्यक्ष सहभागी हुनुपर्ने प्रकृतिकाे भएको बताउनुहुन्छ । कुनै ठाउँका बाढी पहिरो, जुलुस, समाजमा हुने घटनामा अग्रपङ्तिमा रहेर काम गर्नुपर्ने आफूहरूको जिम्मेवारी भएको प्रवक्ता कडायत बताउनुहुन्छ ।
मानिसहरूको प्रत्यक्ष सम्पर्कका कारण प्रहरीमा कोरोना सङ्क्रमण सर्ने गरेको कडायतको भनाइ छ । प्रहरीमा आम मानिसबाट कोरोनाको सङ्क्रमण बढ्ने क्रम देखिएपछि स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमणबाट जोगिन, जारी गरेका मापदण्ड प्रहरीमा कडाइका साथ लागू गरेको उहाँ बताउनुहुन्छ ।
सुरक्षाकर्मीलाई कार्यस्थलमा चाहिने मास्कलगायत विभिन्न सामग्री पर्याप्त मात्रामा सबै क्षेत्रमा पुगेको बताउँदै स्वास्थ्य सामग्री अभाव भएर कोरोना सङ्क्रमण नबढेको उहाँ दाबी गर्नुहुन्छ । प्रहरीमा बढ्दो सङ्क्रमण कम गर्न सामाजिक दूरी कायम, मास्कको प्रयोग लगायत कामको प्रकृतिकाे हिसाबले पनि कसरी अगाडि जाने भन्ने विषयमा रणनीति बनाएको प्रवक्ता कडायत बताउनुहुन्छ । ‘तर हामीले त्यो भन्दाभन्दै पनि अग्रिम मोर्चामा काम गर्ने भएकाले चोर भेटाए चोरलाई समात्नै पर्यो, जुलुस पहिरो आए यहाँनजिक गएर उद्वार गर्नुपर्यो ।’ यस्ता धेरै प्रकारका बाध्यताले सामाजिक दूरी कायम गर्न नसकिने उहाँको भनाइ छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्याल सिमानाको सुरक्षा र क्वारेन्टाइनको सुरक्षा गर्ने कार्यक्षेत्रमा प्रहरीमा कोरोना सङ्क्रमण बढी देखिएको बताउनुहुन्छ । सिमानाको आवतजावत गर्ने ठाउँमा मानिसहरूको भीडभाड, झगडा रोक्न जाँदा पनि कोरोना सङ्क्रमण हुने उहाँको भनाइ छ । सशस्त्र प्रहरीमा सङ्क्रमण बढ्दैगएको अवस्थालाई मध्यनजर गरेर स्वास्थ्य मन्त्रालयले ल्याएको नियम कडाइका साथ लागू गरिएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण थप फैलिन नदिन ब्यारेकको गेटदेखि ‘मेस’सम्म नयाँ नियमसमेत बनाएको प्रवक्ता अर्याल बताउनुहुन्छ ।
ब्यारेकमा बाहिरको मान्छेलाई बन्देज, क्वारेन्टाइनमा डयूटी गरेर आएको प्रहरीलाई छुट्टै क्वारेन्टाइनमा राख्ने, सङ्क्रमण देखिएकालाई छुट्टै आइसोलेसनमा राख्ने व्यवस्था गरेको उहाँ बताउनुहुन्छ । यसैगरी कोरोना परीक्षण गरी कोरोना सङ्क्रमण नेगेटिभ आएका प्रहरीलाई पनि बेग्लै ठाउँमा राख्ने गरिएको छ । साथै, प्रहरीलाई बाहिर बस्न र घर बिदा जान पनि बन्द गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेल सेनासँग मानिसहरूको प्रत्यक्ष सम्पर्क हुने भएकोले कोरोना सङ्क्रमणको जोखिम बढी हुने रहेको बताउनुहुन्छ । नेपाली सेनामा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर थप सर्न नदिन सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरिरहेको बताउनुहुन्छ । यस विषयमा गम्भीर हुँदा पनि काम नै जनसम्पर्कको काम भएकोले कोरोनाको जोखिम रहेको प्रवक्ता पौडेलको भनाइ छ ।
ब्यारेकभित्र पनि सामाजिक दूरी कायम गर्ने बाहिरबाट आएपछि साबुन पानीले हात धुनेलगायत सुरक्षित रहन विशेष सावधानीका उपायहरू अपनाइएको उहाँ बताउनुहुन्छ । त्यसो गर्दा पनि हालसम्म तीन सय जना सेनामा कोरोना पोजिटिभ देखिएको छ । नेपाल भारत सिमानामा पहिला २० ठाउँमा हेल्थ डेस्क खडा गरेर काम गरेकोमा हाल १० ठाउँका नाकामा हेल्थ डेस्क राखेर काम गरिरहेको प्रवक्ता पौडेल बताउनुहुन्छ ।
सिमानामा आउने मानिसहरूको लागि सम्बन्धित ठाउँमा पठाउनको लागि सहजीकरणको काम नेपाली सेनाले गर्दैआएको छ । साथै तेस्रो मुलुकबाट हवाईमार्ग हुँदै आउने मानिसहरूको लागि पनि क्वारेनटाइनसम्म पुयाउने र सुरक्षा दिने काम नेपाली सेनाले गर्दैआएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको शव व्यवस्थापनको काम सेनाले गर्दैआएको सेनाका प्रवक्ता पौडेल बताउनुहुन्छ । अहिलेसम्म १२६ शवको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयाे ।