काठमाडौँ, भदौ ८ : समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई रोक्न उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ गर्ने योजना रहेको फोरमले जनाएको छ ।
नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको आइतबारको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।
निषेधाज्ञाको अवधिलाई पूर्ण सदुपयोग गर्दै कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णयमा पुगेको प्रमुख शाक्यले जानकारी दिनुभयो । सोमबार उपत्यका नगरपालिका फोरमको बैठक बसेर यस विषयमा थप निर्णय गर्ने छ । नगरपालिका फोरमका सचिव श्रेष्ठले तालिका नै बनाएर कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताउनुभयो ।
छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।






