महान्यायाधिवक्ता खरेलद्वारा ११ वटा सरकारी वकिलकाे कार्यालय उद्घाटन

  भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अप्ठ्याराका बीचमा सहजता खोज्दै, समस्याका बीचमा अवसरलाई पहिल्याउँदै सरकारी वकिल कार्यालयको संस्थागत सुदृढीकरण कार्य अगाडि बढाइएको बताउनुभएको छ ।

महान्यायाधिवक्ता खरेलले भर्च्युअल माध्यमबाट विभिन्न स्थानका ११ वटा सरकारी वकिल कार्यालयको भवन आइतबार उद्घाटन गर्दै भन्नुभयो, “दोस्रो पञ्च वर्षीय रणनीतिक योजनाले तय गरे अनुरूप संस्थागत सुधार अन्तर्गत सरकारी वकिललाई भौतिक संरचनामा पनि अब्बल बनाउने उद्देश्य छ ।

उहाँले आगामी दिनमा थप दशवटा भवनहरू निर्माणको चरणमा रहेको र हालसम्म पचास वटा नयाँ भवनहरू निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँले सरकारी वकिललाई भौतिक सुविधा सम्पन्न र क्षमता अभिवृद्धि गरेर मात्र मुद्दाको अभियोजन वस्तुपरक हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठतम् नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले अप्ठ्यारामा अवसर खोज्ने नेतृत्व नै सफल हुने चर्चा गर्नुहुँदै योजनाबद्ध ढङ्गबाट कार्यक्रमहरू निर्धारण गरिएकाले कोभिड–१९ महामारीबीच पनि भौतिक निर्माणमा सफलता मिलेको बताउनुभयो ।

भच्र्यूअल उद्घाटन कार्यक्रममा उच्च अदालत पोखराका का.मु. मुख्य न्यायाधीश किशोर सिलावाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौला, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नायब महान्यायाधिवक्ताहरू, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

महान्यायाधिवक्ता खरेलको तीस महिनाको कार्यकालमा तीस वटा भवन निर्माण सम्पन्न भएका छन् । यसै आर्थिक वर्षमा थप आठ भवन निर्माण सम्पन्न हुने अवस्था रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया