स्वास्थ्यकर्मी राखिएको जानकारी वडालाई नगराउँदा असहज भयो

  भदौ ०७, २०७७

काठमाडौं, भदौ ७ : काठमाठौं महानगरपालिका वडा नं ३१ बानेश्वर मिलनचोकमा रहेको बुद्ध ब्बाइज एण्ड गल्स होस्टलमा बसेका सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बस्न नदिनेभन्दै टोल सुधार समितिले अवरोध गरेको कुरा सामाजिक सञ्जालमा धूवाँसरी फैलियो ।

शनिबार बिहान ८ बजे यो कुरा सुनेपछि काठमाठौं महानगरपालिका वडा नं ३२ का बडाअध्यक्ष नारायणप्रसाद भण्डारी आश्चर्यमा पर्नुभयो ।सिभिल अस्पताल, होस्टल संचालक र टोल सुधार समिति कसैले पनि होस्टलमा चिकित्सक राखिएको जानकारी वडा कार्यालयमा गराएको थिएनन् । जानकारी नगराए पनि घटना दुखद भएको भन्दै वडाअध्यक्षसँगै वडा सदस्यहरुको टोली बुद्ध ब्याइज एण्ड गल्स होस्टलमा पुग्यो ।

तत्कालका लागि टोल सुधार समिति, होस्टलका संचालक तथा सिभिल अस्पतालका प्रतिनिधि बसेर समस्याको समधान गर्नेभन्दै वडा कार्यालयमै सर्वपक्षीय बैठक बस्ने निर्णयसँगै शनिबारको अवरोध हट्यो । होस्टल सञ्चालक आफैपनि स्वास्थ्यकर्मी भएकाले पत्रकारहरुलाई छिटो संचार भएको हुन सक्ने वडाअध्यक्ष भण्डारीको अनुमान छ ।

विवाद थप्नेभन्दा पनि समाधान गर्ने कुरामा वडा कार्यालयले निस्कर्ष निकालेर आईतबारको बैठक बोलाएको अध्यक्ष भण्डारीले बताउनुभयो । डाक्टरहरुलाई होस्टलमा बस्न दिननै अवरोध सृजना भएको समाचार फैलिएपछि सो ठाउँबाट प्रदेश सभामा नेतृत्व गर्ने बागमती प्रदेशका सांसद गणेशप्रसाद दुलालले समेत बैठकमा सहभागिता जनाउनुभयो ।

महानगरीय प्रहरी बृत्त वानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले समेत शनिबार समेत भीडभाड भएपछि प्रहरी परिचालन भएको र उहाँहरु दुबै पक्षले मिलेर आइतबार वडामा बैठक बस्ने गरि जानु भएको बताउनुभयो ।

समयमै सूचना जारी नभएको कारणले शनिबार बानेश्वरको समाचार भाइरल बनेको वडाअध्यक्ष भण्डारीले बताउनुभयो । आफ्नो टोलमा खाली भएको होस्टलमा दैनिक रुपमा बिहान र बेलुका साइरन बजाएर एम्बुलेन्स आउन थालेपछि कहाँबाट को आयो, पिसिआर गरिएको व्यक्ति आएको आएन भनेर बुझ्न जाँदा भीड देखिएको र टोल सुधार समितिको यसमा त्यस्तो चिकित्सक राख्ननै नदिने भन्ने आसय नदेखिएको वडाअध्यक्ष भण्डारीले बताउनुभयो ।

 समयमै सूचना आएको भए शनिबार बिहानको अवस्था आउने नदिने अध्यक्षले दावी गर्नुभयो । होस्टल बाहिर भीडजम्मा भए पनि चिकित्सकलाई दुव्र्यवहार भएको नपाइएको वडाअध्यक्ष भण्डारीले बताउनुभयो ।

दैनिक रुपमा एम्बुलेन्समा नयाँ मान्छे आएपछि सबैजना आत्तिने भएकाले टोल सुधार समिति पनि आत्तिएर कुरा बुझ्न गएको कुरा भुसको आगोझै सल्किएको र तीन पक्षबीच सहमति भएको वडाअध्यक्ष भण्डारीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

वडा अध्यक्ष भण्डारी, होस्टल संचालक रोहित राना, सिभिल अस्पतालको प्रमुख प्रशासकीय अधिकृत रञ्जना नेपाल, बलभद्र मार्ग टोल सुधार समितिका अध्यक्ष सुर्दशन गौतम बीच आइतबार भएको वार्तापछि सहमति भएको छ ।

सहमतिपछि जारी गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ, भदौ ६ गते शनिबारको दिन यस काठमाडौं महानगरपालिका वडा नं ३१ मा रहेको लर्ड बुद्ध व्बाइज होस्टेलमा सिभिल अस्पतालको स्टाफको लागि क्वारेन्टाइन राख्ने सहमति गरेकोमा उक्त विषय वडा कार्यालय तथा बलभद्र टोल सुधार समितिलाई औपचारिकजानकारी नगराइएकोमा होस्टल संचालक र टोल सुधार समितिबीच असमझादारी सृजना भएको हो ।

विज्ञप्तिमा सो समयमा होस्टेलमा बस्ने कर्मचारीहरुले होस्टल अगाडि आउजाउ हुँदा अप्ठारो असहज महसुस गरेको तर कसैले पनि दुव्र्यवहार र हातपात नभएको व्यहोरा सबैमा उल्लेख गरेको छ ।

काठमाडौ महानगरपालिका वडा नं ३१ बलभद्र टोल सुधार समितिका प्रतिनिधि, अस्पतालका प्रतिनिधि होस्टेल संचालक, प्रदेश सभाका सांसद गणेश दुलाल, नेपाली कांग्रेसका महासमिति सदस्य सुरजचन्द्र लामिछाने तथा महानगरीय प्रहरी वृत्त वानेश्वरका डिएसपी दक्ष्यकुमार बस्नेतको रोहबरमा आपसी छलफल भइ स्थानीय समुदाय, स्थानीय सरकार, यस्तो महामारीमा स्वास्थ्यकर्मी तथा अस्पतालाई हरदम सहयोग गर्न तयार रहेको र स्वास्थ्यकर्मीको आवासलाई सुरक्षित र तनाव रहित बनाउन कटिबद्ध रहेको जानकारी विज्ञप्ति मार्फत गराएका छन् ।

विज्ञप्तिमा काठमाडौं महानगरपालिका वडा नं ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी, निजामती अस्पतालको तर्फबाट प्रशासकीय अधिकृत रंजना नेपाल, लर्ड बुद्ध होस्टेलका संचालक रोहित रानामगर तथा बलभद्र टोल सुधार समितिका अध्यक्ष सुदर्शन गौतमले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

तपाईको प्रतिक्रिया