वीरगञ्ज, भदौ ७ : पर्साको वीरगञ्जमा उपचाररत थप १ जना संक्रमित महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । गत साउन २४ गते देखि अस्पतालमा उपचाररत संक्रमित महिलाको शनिबार उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले आईतबार बिहान पुष्टि गरेको हो ।
पर्साको वीरगञ्जमा रहेको बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर निवासी ५६ वर्षीय कोरोना संक्रमित महिलाको शनिबार बेलुका ७ः ३० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
ज्वरोका साथै खोकी र श्वास प्रश्वासमा समस्या भएपछि साउन २२ गते नारायणी अस्पतालमा स्वाब संकलन गराएकी ती महिलाको नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा साउन २४ गते कोरोना पोजेटिभ देखिएको थियो । साउन २४ गते कोरोना पोजेटिभ देखिएदेखि नै ती महिललाई बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालको आईसियूमा राखेर उपचार गरिदै आएको थियो ।
हाईपो थाईरोइड रोगको बिरामी रहेकी ती महिलामा कोरोना पोजेटिभ रहेको र ज्वरो , खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि आईसियूमा राखेर उपचार गरिएको तर स्वास्थ्यमा सुधार नभएकाले पछिल्लो १२ घण्टा भेन्टीलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा मृत्यु भएको बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालकी मेट्रोन भूमिका अधिकारीले गोरखापत्रलाई बताउनुभयो ।
यी संक्रमित महिलाको मृत्युसंगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । साउन यतामा मात्रै मृत्यु हुनेको संख्या ३२ पुगेको छ । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेमा पर्साका २८ , बाराका ५ र रौतहटका २ जना र जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएका हालसम्म पहिचान खुल्न नसकेका एक संक्रमित युवक रहेका छन् ।






