बिदामा घर आएका सैनिक जवानमा सङ्क्रमण पुष्टि

  भदौ ०६, २०७७

बागलुङ, भदौ ६ : घर विदामा बागलुङ आएका एक जना सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपािलका–१२ स्थायी घर भई हाल बागलुङ नगरपालिका–३ गुठीमा परिवारसँगै बस्दै आएका २५ बर्षिय युवामा संक्रमण पुष्टि भएको हो । संक्रमित युवा साउन ३० गते लम्जुङदेखि छुट्टी लिएर घर आउनुभएको थियो । 

घर विदामा रहेको बेला ज्वरो आउने, खोकी आउने समस्या भए पछि उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पुग्नुभएका युवालाई कोरोना संक्रमणको आसंकामा अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा राखेर स्वाव परीक्षण गर्दा संक्रमण देखिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा बागलुङका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

युवाको सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्तिको खोजी गरी होम क्वारेन्टाईनमा बस्न अनुरोध गरेको खनालले बताउनुभयो । युवालाई अहिले पनि खोकी लागी रहेको धौलागिरी अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोख्रेलले जानकारी दिनुभयो । युवालाई कहाँबाट कसरी संक्रमण भएको भन्ने बारे अन्यौल रहेको छ ।

तपाईको प्रतिक्रिया