निसङ्क्रमण अभियानमा महानगर

  भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : काठमाडौँ महानगरपालिकाले नगरलाई कोरोना भाइरस (कोभिड–१९)बाट बचाउन निसङ्क्रमण अभियानलाई फेरि तीव्र बनाएको छ ।

सङ्क्रमण सुरु भएदेखि नै महानगरपालिकाले टेकु, वीर अस्पताल, कालीमाटी फलफूल बजार लगायतका स्थानलाई निसङ्क्रमण बनाउन थालेको थियो । यसलाई निरन्तरता दिँदै अहिले सङ्क्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रलाई निसङ्क्रमण गरिरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले भन्नुुभयो, “हामीले दिनको १४ वटासम्म सवारी र उपकरण परिचालन गरेका छौँ । अहिले दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन भइरहेका छन् ।”

कालीमाटी र बल्खुजस्ता तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखालगायत सङ्क्रमण देखिएका ठाउँ, सङ्क्रमित बिरामी लैजाने अस्पताल क्षेत्र, बिरामी भेटिएका ठाउँ र निषेधाज्ञा जारी हुनुअघि भीड भएका ठाउँलाई प्राथमिकतामा राख्ने गरिएको छ, महाशाखा प्रमुख सापकोटाको भनाइ छ ।

“एकपटक सबै वडामा पुगिसकेका छौँ । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौंँ,” सापकोटा थप्नुहुन्छ, “निसङ्क्रमण गर्ने प्रचलित मापदण्ड बमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेका छाँैं । जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको सङ्क्रमण निस्तेज नहुञ्जेल जारी राख्छौंँ ।”  

तपाईको प्रतिक्रिया