सैनीबजार (अछाम), भदौ ६ : बाढीले व्यापक धनजनको क्षति गरेको रामारोशन सैनीबजार क्षेत्रको गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको मन्त्री टोलीले शुक्रबार निरीक्षण गरेको छ । त्यस क्रममा उहाँले पीडितका घर सरकारले बनाउने वचन पनि दिनुुभयो ।
स्थानीयवासीलाई सम्बोधन गर्नुहुदै उहाँले पीडितको राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सरकार तयार रहेको बताउनुभयो । केही दिनअघिको बाढीले रामारोशन सैनीबजारका २२ घर बगाएको थियो । बाढीमा १७ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये छ जनाको शव फेला परेको थियो भने ११ जना अझै बेपत्ता छन् ।
“जनधनको गम्भीर क्षति भएको छ, यसको उचित सम्बोधनका लागि सरकार तयार छ र हामी लागिरहेका छौँ,” मृतक र बेपत्ता व्यक्तिको परिवारलाई सङ्घ र प्रदेशबाट राहत रकम उपलब्ध हुने भन्दै गृहमन्त्री थापाले बगेका घर सरकारले नै पुनर्निर्माण गरिदिने बताउनुभयो ।
“स्थानीयवासीको सुझावका आधारमा घर स्थानान्तरण वा एकीकृत बस्ती बनाउने सम्बन्धमा सरकारले निर्णय गर्नेछ,” उहाँले स्पष्ट पार्नुुभयो । बाढीबाट क्षति भएका सडक, पुल, विद्युत्, विद्यालय लगायतका संरचना सरकारले तत्कालीन र दीर्घकालीन गरेर निर्माण गर्ने बताउँदै उहाँले भन्नुभयो, “यो जनताको सरकार भएकोले जनताका पीर, दुःखमा साथ दिन्छाँ ।”
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बाढीपीडित परिवारको राहत र पुनस्र्थापना पहिलो आवश्यकता भएको भन्दै सरकार त्यतै केन्द्र्रित भएको बताउनुभयो । “बाढीपीडितसँगै आगामी दिनका लागि रामारोशन क्षेत्रकै भूूगर्भ अध्ययन आवश्यक भएकोले सरकारको त्यतातिर पनि ध्यान गएको छ,” उहाँले स्पष्ट पार्नुुभयो ।






