इलाका प्रहरी कार्यालय लहानमा ३१ सहित सिरहामा ४१ जना सङ्क्रमित

  भदौ ०५, २०७७

सिरहा, भदौ ५ : जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको लहानस्थित इलाका प्रहरी कार्यालयमा थुनुवा र प्रहरी गरेर ३१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय लहानसहित सिरहामा शुक्रबार ४१ जना सङ्क्रमित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, इलाका प्रहरी कार्यालय लहानमा २२ जना प्रहरी, ८ जना थुनुवा र एक जना कारागार पठाइएको गरी ३१ जना, पशुपति आदर्श माध्यमीक विद्यालयको क्वारेन्टाइनमा एक जना, धनगढीमाई नगरपालिकास्थित नयनपुर अस्पतालका दुई जना स्वास्थ्यकर्मी र दुई जना सर्वसाधारण गरी चार जना तथा मिर्चैया नगरपालिकाका चार जना कर्मचारी तथा एक जना ६८ वर्षीय पुरुष गरी पाँच जना रहेका छन् ।

लहान नगरपालिकाका स्वास्थ्य फाँटका प्रमुख रामसुन्दर यादवले इलाका प्रहरी कार्यालय लहानबाट ३९ जनाको स्वाब लिएकोमध्ये शुक्रबार एक प्रहरी निरिक्षकसहित ३१ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो । उहाँले संक्रमितहरुलाई आइसोलेसनमा राख्ने स्थानको अभाव भइरहेको बताउनुभयो ।

स्वाब लिइएको भोलिपल्टै मृत्यु
मिर्चैया नगरपालिकाका एक जनाको स्वाब लिएको भोलिपल्टै मृत्यु भएको छ । मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेश सिंहका अनुसार, सङ्क्रमित ती ६८ वर्षीय पुरुषको स्वाब मिर्चैयाको क्वारेन्टाइनबाट गत साउन २ गते विहान ८ बजे लिइएको थियो । मधुमेहका विरामी रहेका ती पुरुषलाई स्वाब लिएको केही घण्टापश्चात् उच्च रक्तचापको समस्या पनि देखिनुको साथै उच्च ज्वरो पनि आएको थियो । ज्वरोको कारण नै उनको साउन ३ गते विहान ७ः३० बजे मृत्यु भएको थियो ।

ज्वरोको कारण मृत्यु भए पनि तत्काल उनमा पोजिटिभ नदेखिएपछि मिर्चैया नगरपालिकाको स्वास्थ्य शाखाले मृतकको आफन्त र छोरालाई खबर ग¥यो । खबर पाएपछि आफन्त र छोराले मृतकलाई क्वारेन्टाइनबाट बाहिर निकालेर मिर्चैया नगरपालिका–४ स्थित उनकै आँपको बगैंचामा लगे जहाँ छोराले मृतकलाई दागबत्ती दिए । मिर्चैया स्वास्थ्य शाखाका प्रमुख सिंहले मृतकको दाहसँस्कारमा संलग्न सबैलाई क्वारेन्टाइनमा बोलाई स्वाब सङ्कलन गर्ने तयारी गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया