काठमाडौं, भदौ ५ : नेपाल सरकारले कोभिड–१९ का एकजना बिरामी फेला पार्न एक लाखभन्दा बढी रुपैयाँ खर्च गर्नुपरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ का एक जना बिरामी फेला पार्न सरकारले एक लाख चार हजार ६३० रुपैयाँ खर्च भएको जनाएको छ ।
मन्त्रालयले अहिलेसम्म पाँच लाख ७९ हजार ८९९ जनाको पिसिआर परीक्षण गरिसकेको छ । रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० पिसिआर परीक्षणमा खर्च भएको छ । “एउटा संक्रमण भेटाउनका लागि सरकारले अहिले एक जनामा एक लाख ४ हजार ६३० रुपियाँ खर्च भएको छ । उपचारमा खर्च एक व्यक्तिको ३० दिन राख्दा चार लाख ५० हजार रुपियाँ खर्च हुने गरेको छ,” उहाँले भन्नुभयो, “यसरी कोरोनाको जाँच गर्ने र पत्ता लगाउने र उपचार गर्ने पद्धति धेरै नै खर्चिलो भएको छ । जरुरी काम नपरीकन बाहिर ननिस्कनु होला ।”
उहाँले बाहिर निस्कनै प-यो भने दुई मिटरको दूरी कायम गरी मास्क र सेनिटाइजर प्रयोग गर्न तथा घर गइसकेपछि साबुनपानीले मिचिमिची हात धुन अनुरोध गर्नुभएको छ । नेपालमा अहिलेसम्म गरिएको परीक्षणमा पाँच लाख ४९ हजार ४१६ जनामा संक्रमण देखिएको छैन । यस्तै १८ हजार २१४ जना निको भई घर फर्किसकेका छन् भने १३७ जनाको संक्रमणको कारणले मृत्यु भएको छ । यसैगरी संक्रमित बढ्न थालेपछि सघन उपचार कक्ष भेन्टिलेटरमा उपचार गराउने संक्रमित बढेका छन् ।
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आइसियुमा १३३ र भेन्टिलेटरमा १५ जना छन् । यस्तै पाँच सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ छन् । संक्रमित शून्य रहेका जिल्लामा भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला छन् । उहाँले संक्रमण रहेका टोलटोलमा अहिले पनि खुला हिँड्ने र नाचगान गरिएको पाइएकाले त्यसो नगर्न अनुरोध गर्नुभयो । उहाँले धेरै जनामा संक्रमण फैलियो भने उपचारका लाािग समस्या झनै थपिने बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता डा गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्थानीय तह, क्लब र टोललाई व्यक्तिगत भेटघाट र सामूहिक भेट गर्दा निगरानी गर्न र स्वास्थ्य सचेतना अभियान सञ्चालन, अनुगमन गर्न तथा स्वास्थ्य मापदण्डअनुसार पालना नगरे सम्बन्धित निकायलाई कारवाहीका लागि सिफारिस गर्न अनुरोध गर्नुभएको छ ।
हाल १२ हजार २३४ जना क्वारेन्टिनमा छन् । १२ हजार १३२ जना आइसोलेशनमा छन् । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म १३७ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा मात्रै ११ जनाको मृत्युको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले कफ्र्यु लगाइएको अवधिमा समेत बाहिर सडकमा हिंडडुल गर्ने देखिएकोले आफूसँगै अन्यलाई समेत जोखिममा पार्ने गरी जनस्वास्थ्यसँग लापरवाही नगर्न सचेत गराउनुभएको छ ।






