काठमाडौं, भदौ ५ : काठमाडौंमा कोरोनाभाइरस सङ्क्रमित थप दुई बिरामीको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत दुई जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको हो ।
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुका निर्देशक डा. प्रवीण नेपालले मृतक काठमाडौं बालुवाटार र सप्तरी राजबिराजका गरी दुई जना पुरुष रहेको जानकारी दिनुभएको छ । “हिजो साँझ होम आइसोलेशनमा अवस्था जटिल भएपछि बालुवाटारबाट अस्पताल ल्याइएका ७६ वर्षीय पुरुषको अस्पताल भर्ना गरिएको एक घण्टाभित्रै मृत्यु भएको हो,” डा. प्रवीण नेपालले बताउनुभयो । बालुवाटारका कोभिड–१९ बिरामी करिब छ दिनदेखि ‘होम आइसोलेशन’मा बस्नुभएको थियो । उहाँ ७६ वर्षीय पुरुष हुनुहुन्थ्यो।
सप्तरीका राजबिराजका ७७ वर्षीय वृद्धलाई समेत बिहीबार नै बलम्बु अस्पताल पुर्याइएको थियो । सप्तरीबाट ३० गते उपचारका लागि काठमाडौं ल्याइएका बिरामीको ग्रीनसिटि अस्पतालमा भर्ना गरिएको थियो । साउन ३२ गते कोभिड–१९ को पुष्टि भएपछि उपचारकै क्रममा अवस्था जटिल भएपछि पाइपसहित भदौ ४ गते बलम्बु अस्पताल ल्याइएको डा. नेपालले जानकारी दिनुभयो ।
“साँझ नै भेन्टिलेटरमा राखेर उपचार सुरु गरियो, आज बिहान दश बजे करिब उहाँको निधन भयो ।”, डा. प्रवीण नेपालले थप्नुभयो । दुबैजनाको शव व्यवस्थापनको लागि नेपाली सेनाको जिम्मा लगाइएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।






