काठमाडौं, भदौ ५ : ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने एक महिला र एक पुरुष छन् । दुबैजना जटिल अवस्थामा उपचारका लागि बाहिरबाट रेफर भएर आएका बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार दुबै जनाको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको छ । डा. गेलाले दोलखा निवासी ३० वर्षीया महिलाको उपचारको क्रममा बिहान करिब चार बजे मृत्यु भएको जानकारी दिनुभयो । उहाँ भदौ २ गते अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।
सर्लाहीको मलङ्गवा निवासी ४६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट शुक्रबार बिहान करिब साढे पाँच बजे निधन भएको डा. गेलालले बताउनुभयो । उहाँ साउन ३१ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।






