विराटनगर, भदौ ५ : कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेशनमै रहेको अवस्थामा एकजना पुरुषको मृत्यु भएको छ । विराटनगर–६ निवासी ४५ वर्षीय पुरुषको बिहीबार बेलुका ८ बजे घरमै मृत्यु भएको हो ।
सुगर र प्रेसरले लामो समयदेखि ग्रसित पुरुषलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएपछि घरमै सुरक्षित राखिएको अवस्थामा बिहीबार बेलुका एक्कासि मृत्यु भएको उहाँले बताउनुभयो ।
घरमै मृत्यु भएपछि शव व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाई सकिएको छ । परिवारले हिजो बेलुकै मृत्यु भए पनि अध्यक्षलाई बिहान मात्रै जानकारी भएको थियो । आफैं अन्त्येष्टि गर्न लाने तयारी भईसकेको रहेछ, थाहा पाएर रोकें अध्यक्ष कामतले भन्नुभयो–संक्रमितको घर भएकोले आसपासका छिमेकीहरु समेत घरमा आउजाउ नगर्ने भएकोले ढिलो थाहा भएको हो ।
शुक्रबार बिहानै विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई वडा अध्यक्ष आफैं जानकारी गराएपछि नेपाली सेनाको टोलिले शव व्यवस्थापन गर्ने भएको छ । योसँगै विराटनगर महानगरपालिकामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
मोरङको बुढीगंगा गाउँपालिकामा २ जना, रंगेली र सुनवर्षी नगरपालिकामा १–१ जनाको मृत्यु भईसकेको छ । प्रदेश १ मा मोरङका १२ सहित सुनसरी धरानका एकजना गरि १३ जनाको र उपचारका लागि प्रदेश २ बाट आउने ४ जनाको मृत्यु भईसकेको छ ।






