कन्ट्याक्ट ट्रेसिङमा एकै परिवारका दुईसहित आठ जनामा सङ्क्रमण पुष्टि

  भदौ ०३, २०७७

बागलुङ, भदौ ३ : बागलुङमा समुदायस्तरमा कोरोनाले व्यापक रुप लिन थालेको छ । बागलुङ नगरपालिका–३ हाडेपाखा बस्ने २३ वर्षीय कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा एकै परिवारका दुईसहित आठ जनामा पुष्टि भएको हो ।

सङ्क्रमणको कन्ट्याक्ट ट्रेसिङमा पहिलो पटक सङ्क्रमित भेटिएको बागलुङ नगरपालिकाका वरिष्ठ स्वास्थ्य सहायक डिल्ली आचार्यले जानकारी दिनुभयो । महिलाको सम्पर्कमा रहेका १५ जना व्यक्तिको स्वास्थ्य परीक्षण गर्न स्वाब पठाइएको थियो ।

क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा २१, ३५, १३ वर्षीया महिला र ८, २०, २२, ३४ र १३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू सबै होम क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमण पुष्टि भएपछि धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

समुदायका कोरोना व्यापक भएको अनुमान छ’ आचार्यले भन्नुभयो, ‘कसैको सानो लापरवाहीले पनि महामारी आउन सक्छ ।’ सङ्क्रमण आठ जनाको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुँदा संयमित भएर सबै घरमा बस्नुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया