कोरोना सङ्क्रमित पचास प्रतिशत बिरामी दुई हप्तामै निको

  भदौ ०२, २०७७

बागलुङ, भदौ २ : बागलुङका ५० प्रतिशत कोरोना संक्रमितले दुई हप्तामा कोरोना जितेर घर फर्केका छन् । संक्रमण पुष्टि भए पछि उपचारको लागि आईसोलेसन भर्ना भएका संक्रमित मध्ये दुई हप्तामा निको हुनेको दर ५७ दशमलव ७ प्रतिशत रहेको छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार जिल्लामा २४६ ले कोरोना जितेर घर फर्कको छन । निको हुने मध्ये १४० जनाले आठ देखि १४ दिनसम्मको उपचार पछि घर फर्केका थिए । सबै भन्दा कम समय एक हप्तामा निको हुने दर ७ प्रतिशत रहँदा सबै भन्दा बढी २९ देखि ३५ दिनका सन्चो हुनेदर २ प्रतिशत रहेको छ ।

संक्रमण पुष्टि भएको दिनदेखि १५–२१ दिनमा २७, २२–२८ दिनमा ६ प्रतिशत, २९–३५ दिनमा निको हुने ३ प्रतिशत र ३६ दिन बढी समय लाग्नेको संख्या एक प्रतिशत रहेको छ । गत चैत्र १५ गते पहिलो पटक संक्रमित भेटिएको बागलुङमा आईतबार संक्रमण पुष्टि भएकी एक महिला बाहेक अन्य कुनै पनि संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन ।

लक्षण बिहीन युवा संक्रमितको संख्या बढी भएकाले पनि छोटो समयमा कोरोना निको हुने दर बढी भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौको भनाई छ । जिल्लाका उपचार पश्चात निको हुने दर ९२ प्रतिशत हुँदा मृत्युदर ० दशमलव ४ प्रतिशत रहेको छ । कार्यालय प्रमुख गुरौका अनुसार सबै भन्दा बढी २१–३० वर्ष उमेर समुहका १३३, ११–२० भित्रका ३९, ३१–४० वर्षका ६१, ४१–५० भित्रका २०, ५१ देखी ६० का ९ र ६१ वर्षमाथिका ५ जना संक्रमित भएका छन् ।

बागलुङमा हालसम्म दुई हजार १५१ आरडिटीसहित पाँच हजार ४३३ जनाको स्वास्थ्य परीक्षण गर्दा २६८ जना संक्रमित फेला परेका छन् । हाल २१ जना संक्रमित धौलागिरी अस्पताल बागलुङको आईसोलेसन कक्षमा उपचाररत रहेका छन् । एक जना महिला संक्रमित बाहेकका अन्य संक्रमित लक्षण बिहीन रहेको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोख्रेलले जानकारी दिनुभयो ।

जनस्वास्थ्यका सुरक्षा मापदण्डलाई कडाईका साथ पलना गर्नुका साथै दिन दैनिकीलाई सन्तुलनमा राख्न सके संक्रमणबाट जोखिम कम हुने कार्यालय प्रमुख गुरौले उल्लेख गर्नुभयो । बागलुङमा आइतबार घरमै रहेकी महिलामा कोरोना फेला परे पछि समुदायस्तरमा संक्रमण फैलिएको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया