काभ्रे, भदौ २ : धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ बर्षीय बृद्धको उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ । उहाँमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो ।
बृद्ध अवस्था रहेकाले रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेपछि अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पर्ने डाक्टरको सुझाव थियो । तर समय मै ‘ए’ प्लस पोजेटिभ रगत नपाएको परिवारले जनाएको छ । प्लाज्मा थेरापीका लागि संक्रमण भएर निको भएका जुन समूहको बिरामी हो, त्यससँगै मिल्ने समूहको रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ । उहाँमा कोरोना पोजेटिभ देखिए लगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । उहाँहरु दुवै जना काठमाडौंमा उपचारार्थ हुनुहुन्छ । परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण भइरहेको छ ।
उहाँको शव पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने बताइएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोनाका कारण काभ्रेका दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । यस अघि पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५० वर्षीया महिलाको कोरोना कै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो । उहाँका अनुसार काभ्रेमा संक्रमितको संख्या ८० पुगेको छ । ३४ जना उपचारपछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको झालाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।






