काठमाडौँ, भदौ २ : तीव्र रूपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण यतिबेला आफन्त र छिमेकीलाई दुःख बिमार वा कुनै अप्ठ्यारो परेमा समेत सघाउन सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा सडकमा अलपत्र परेका मानवतर्फ ध्यान जाने कुरै भएन । यस्तो अवस्थामा रहेका मानिसको उद्धार र व्यवस्थापनमा सक्रिय रहेको मानवसेवा आश्रम र यसका सेवकलाई समेत कोरोना सङ्कटले अप्ठ्यारोमा पारेको छ । सडकमा अलपत्र परेकाको स्वास्थ्य परीक्षण र उनीहरूलाई राख्ने छुट्टै क्वारेन्टाइन नहुँदा समस्या परेको हो ।
आश्रमको भक्तपुर र ललितपुर शाखामा तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये एक जना पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ । अरू दुई जना आफैँ आइसोलेटेड भएर छुट्टै बस्नुभएको अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
उपत्यकाका अस्पतालमा सङ्क्रमितको चाप बढेकाले उहाँहरू जस्ता धेरै बिरामी यतिबेला घरमै वा अन्य सुरक्षित स्थानमा एक्लै बस्नुपरेको छ । आश्रमका सेवकमा सङ्क्रमण भएको खबर थाहा पाएपछि छिमेकीले हेयभाव राख्ने गरेका छन् । खानेकुरा ल्याउने, पानी ल्याउनेले समेत ढिला गर्ने तथा ल्याउन मन नगर्ने गरिरहेका छन् ।
भक्तपुर, ललितपुर र काठमाडौँस्थित आश्रमका शङ्कास्पद व्यक्तिको धमाधम पीसीआर परीक्षण चलिरहेको छ । परीक्षण गरिएका पछिल्ला चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । बाँकीको परीक्षण र परिणाम आउन बाँकी छ । अधिकारीका अनुसार उपत्यकाबाहेक अन्य जिल्लामा रहेका शाखामा कोरोना सङ्क्रमण देखिएको छैन ।
देशभर आश्रमका १७ वटा शाखा छन् । उपत्यकाका आश्रम र सेवकहरूको परीक्षणका लागि स्वयं प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पत्नी राधिका शाक्यले सम्बन्धित निकायलाई सहयोग गर्न घच्घच्याइरहनुभएको आश्रमका सेवकहरू बताउनुहुन्छ । काठमाडौँ महानगरपालिका र अन्य स्थानीय तहले पनि सघाउन पहल गरिरहेका छन् । केही दिनअघि प्रधानमन्त्री पत्नी शाक्यले आफ्नो जन्मदिन आश्रममै मनाएर सङ्क्रमणका बेला मनोबल उच्च बनाउन हौसला दिनुभएको थियो ।
उद्धारमा कठिनाइ
केही दिनअघि कालीमाटीबाट उद्धारका लागि तारन्तार फोन आयो । सङ्क्रमण उच्च रहेको स्थानमा उद्धारकर्ता त्यसै पुग्न सकेनन् । आश्रमको सुझावअनुसार स्थानीय तहसँग समन्वय गरेर स्थानीयवासीले सडकमा अलपत्र व्यक्तिको पीसीआर परीक्षण गरिदिए । त्यसपछि सिन्धुपाल्चोकका एक वृद्धको उद्धार भयो । त्यस्तै सुर्खेतमा पनि सुरक्षित तवरले एक मनोरोगीको उद्धार आश्रमले ग¥यो, अध्यक्ष अधिकारीले भन्नुुभयो ।
उहाँका अनुसार दिनभरमा ५० भन्दा बढी फोन उद्धारकै लागि आउँछ तर त्यसै ल्याउन सकिन्न । आफूसँगै स्वास्थ्यकर्मी, किट लगायतका साधन छैन । त्यसैले तत्काल उद्धारका लागि नजाँदा अनावश्यक झन्झट आइपर्ने गरेको छ ।
देशभरका आश्रममा एक हजारभन्दा बढी सडकबाट उद्धार गरिएका मानिस छन् । तीमध्ये करिब छ सय जना दैनिक औषधि सेवन गर्ने मनोरोगी छन् । बौद्धिक अपाङ्गता भएका १५ जनासहित ७२ जना बालबालिका छन् । अशक्त र वृद्धवृद्धा पनि छन् । तीन महिनाको बन्दाबन्दीमा आश्रमको खर्च र राशन धान्न धौधौ परेको बाग्मती प्रदेश संयोजक सुमन बर्तौलाले जानकारी दिनुुभयो ।






