हेटौँडा, भदौ २ : गत साउनयता बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर बढेसँगै उच्च अधिकारीहरूमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । जनसम्पर्कमा रहने जनप्रतिनिधिदेखि प्रशासकसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउनपुर १२ का वडाध्यक्षदेखि बाग्मती प्रदेशको प्रदेश प्रमुखको कार्यालयका सचिवसम्ममा कोरोना सङ्क्रमण पुुष्टि भएको छ । उच्च सुरक्षा अधिकारी, चिकित्सक, बैङ्कर लगायतमा कोरोना भाइरस सङ्क्रमण भएपछि उच्च अधिकारीहरू कोरोना जोखिममा रहेको पुष्टि भएको हो ।
उपसभामुखलाई कोरोना सङ्क्रमण
मकवानपुर समाचारदाताका अनुसार बाग्मती प्रदेशको प्रदेश सभाका उपसभामुखलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा उपसभामुखको स्वाबको नमुनाको पीसीआर परीक्षण गरिएकोमा सोमबार नतिजा पोजेटिभ आएको हो ।
हेटौँडा उपमहानगरपालिका–४, कर्रास्थित आइसोलेसन कक्षका इन्चार्ज भोला चौलागाईंले उपसभामुखलाई कोरोना सङ्क्रमण भएको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
उपसभामुख हाल हेटौँडामा नै होम आइसोलेसनमा हुनुहुन्छ । यसअघि उहाँको स्वाबको नमुना परीक्षण गर्दा शङ्कास्पद देखिएपछि पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । मकवानपुरमा सोमबार उपसभामुख, ११ प्रहरीसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ प्रहरीको कार्यक्षेत्र मकवानपुर रहेको जनाइएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरका १२ प्रहरी र तीन जना बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता इन्द्रबहादुर रानाले हटियास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण भएपछि प्रहरी पोस्ट ‘सिल’ गरिएको जानकारी दिनुभयो ।
प्रशासकहरू उच्च सतर्कता अपनाउँदै
नारायणगढ समाचारदाताका अनुसार भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीलाई कोरोना पुष्टि भएसँगै टे«सिङमा परेका चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लाका उच्च पदस्थ व्यक्तिले थप सतर्कता अपनाउँदै आफ्नो काम गर्न थाल्नुभएको छ ।
टे«सिङमा परेर उच्च जोखिममा रहनुभएका जिल्लाका महŒवपूर्ण व्यक्तिले सेल्फ क्वारेनटाइनबाटै दैनिक कामकारबाही थाल्नुभएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको हटस्पर्ट बनिरहेको भरतपुर अस्पतालका मेसु डा. तिवारीसँग प्रजिअ भट्टराई लगायतका व्यक्तिको पटक–पटक बैठकमा सहभागी हुँदै आउनुभएको थियो ।
जिल्लास्तरीय कोरोना नियन्त्रण कार्यदलको बैठकमा गत शुक्रबार भरतपुर अस्पतालमा भएको बैठकमा डा. तिवारीसहित प्रदेश सभाका सदस्यद्वय घनश्याम दाहाल, विजय सुवेदी, प्रजिअ भट्टराई, भरतपुर महानगर प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमलगायत सहभागी हुनुहुन्थ्यो ।
टे«सिङमा पर्ने सबैको केही दिनमै स्वाब परीक्षण गरिने भएको छ । यता चितवनमा विभिन्न अस्पतालका कार्यरत २० जना स्वास्थकर्मी तथा कर्मचारीमा सङ््क्रमण पुष्टि भएको छ । चितवनमा अहिलेसम्म २०९ जनामा कोरोना सङ्क्रमण भइसकेको छ ।
एक साता लकडाउन
सिन्धुपाल्चोक समाचारदाताका अनुसार सोमबारदेखि एक साताका लागि सिन्धुपाल्चोकमा लकडाउन गरिएको छ । सिन्धुपाल्चोकमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा ७८ जनामा कोरोना भाइरस सङ्क्रमण भइसकेको छ ।
लकडाउन भएपछि बिहानैदेखि बजार, गाउँटोल सुनसान भएको छ । मान्छेहरू घर बाहिर निस्केका छैनन् । अत्यावश्यक बाहेकका सवारी साधान चलेका छैनन् । खाद्यान्न, तरकारी पसल, मेडिकल, पेट्रोल पम्प, निर्माण सामग्रीका पसलबाहेक अन्य पसल बन्द भएका छन् ।
एम्बुलेन्स, मालवाहक गाडी, ढुवानीका साधन, दमकल, पशुपक्षी तथा दाना बोक्ने गाडी, निर्माण सामग्री बोक्ने गाडीलाई सञ्चालनमा रोक नलगाइएको प्रजिअ ढकालले बताउनुभयो । सरकारी, गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरू र सहकारीलाई दिनको ११ बजेदखि २ बजेसम्म सञ्चालन गर्न दिइएको छ ।
थप ११ जनामा कोरोना सङ्क्रमण
चितवन समाचारदाताका अनुसार चितवनमा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । आइतबार रातिसम्ममा ५६८ जनाको स्वाबको नमुना परीक्षण गरिएकोमा थप ११ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएकामा चितवनका १० र मकवानपुरका एक जना रहेको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले बताउनुभयो ।
तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका चार महिला र तीन पुरुष गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैबीच मेडिकल सुपरिन्टेन्डेन्टसहित तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण भएपछि भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल ओपीडी सेवा बन्द गरी एकीकृत आकस्मिक सेवामार्फत बिरामीको उपचार गरिने जनाएको छ ।
यस्तै सघन कक्ष (आईसीयू) र प्रसूति गृह (मातृशिशु सेवा)मा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको सेवा यथावत् रहने अस्पतालले जनाएको छ ।
प्रहरी फेस सिल्डसहित कार्यस्थलमा
हेटौँडा समाचारदाताका अनुसार कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर राख्दै बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले आफ्नो कार्य क्षेत्रका पाँच हजार सात सय प्रहरीलाई फेस सिल्ड (अनुहार छाप्ने पारदर्शी प्लास्टिक)को व्यवस्था गरेको छ ।
बाग्मती प्रहरी प्रदेश कार्यालय मातहतका १० जिल्ला (काठमाडौँ उपत्यकाबाहेक)मा रहेका तालिम केन्द्र, दङ्गा नियन्त्रण, विपद् व्यवस्थापन र ट्राफिकतर्फ सबैलाई पुग्ने गरी फेस सिल्डको व्यवस्थापन गरिएको हो । बाग्मती प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाको सक्रियतामा प्रदेशभर एकरूपता झल्किने गरी सोमबारबाट फेस सिल्डसहित कार्यस्थलमा खटिएका छन् । नागरिकबाट प्रहरीसम्म र प्रहरीबाट नागरिकसम्म कोरोना सङ्क्रमण नफैलियोस् भनेर फेस सिल्डको व्यवस्था गरेका छौँ, प्रमुख लामाले भन्नुभयो ।
लामाका अनुसार ड्युटीमा खटिने प्रहरी सधैँ पीपीई लगाएर बस्न नसक्ने अवस्था आएको र मास्कले मात्रै सङ्क्रमण रोक्न नसकिएको अवस्थामा फेस सिल्डको व्यवस्था गरिएको हो । फेस सिल्डको प्रयोगले आफ्नै हात पनि आँखा, नाक, मुखलगायत संवेदनशील अङ्गमा पुग्नबाट रोक्न सकिने भएकाले प्रभावकारी हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चुरेमा शव व्यवस्थापन गरिने
सिन्धुली समाचारदाताका अनुसार सिन्धुली जिल्लामा कोरोना भाइरस सङ्क्रमणबाट कुनै व्यक्तिको ज्यान गएमा कमलामाई नगरपालिका–९ स्थित चुरे र कार्कीखोला बीचमा शव व्यवस्थापन गरिने भएको छ । जिल्लाका सरोकारवाला निकाय, निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, पार्टी प्रतिनिधि र सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थितिमा आइतबार निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाको अध्यक्षतामा बसेको जिल्ला विपद् समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
शव व्यवस्थापनमा अन्य जिल्लामा समस्या देखिएपछि सिन्धुलीमा पूर्वतयारी स्वरूप स्थान छनोट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । बैठकले थप ५० शøयाको आइसोलेसन भवन निर्माण गर्न स्थान छनोट, भवन निर्माणका लागि जिल्ला रेडक्रस शाखा सभापति अशोक श्रेष्ठको संयोजकत्वमा भवन निर्माण समिति गठन, क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका व्यक्तिको खाना, खाजा र पानी खर्च स्थानीय तहले आ–आफ्नो गाउँ तथा नगरपालिकाले बेहोर्ने, स्थानीय तहले विद्यालयबाट क्वारेन्टाइन हटाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । सिन्धुली जिल्लामा अहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका २० जना अस्पतालको आइसोलेसन कक्षमा भर्ना भई उपचार गरिरहेका सिन्धुली अस्पतालले जनाएको छ ।
आइसोलेसन बेड थप्दै
काभ्रेपलाञ्चोक समाचारदाताका अनुसार काभ्रेमा कोरोना सङ्क्रमित बढ्दै गएपछि आइसोलेसन बेड थप्न थालिएको छ । आइसोलेसन बेड अभाव भएपछि गत शुक्रबार सङ्क्रमण पुष्टि भएका आठ जनालाई घरमा नै राखिएको थियो । यसले सङ्क्रमणको त्रास स्थानीयवासीमा बढ्न थालेपछि स्थानीय तहले आइसोलेसन कक्ष थप्न थालेका हुन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले पटक–पटक ताकेता गर्दा पनि आइसोलेसन वार्ड बनाउन आलटाल गर्दै आएका स्थानीय तहले सङ्क्रमित बढ्दै गएपछि आइसोलेसन वार्ड निर्माणमा लागेका छन् ।
यसैक्रममा बनेपा नगरपालिकाले नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटमा ५० बेडको आइसोलेसन वार्ड बनाइरहेको नगरप्रमुख लक्ष्मीनरसिंह बादेले जानकारी दिनुभयो । जिल्लाको धुलिखेल अस्पतालमा १५ र शिर मेमोरियल अस्पतालमा पाँचवटा आइसोलेसन बेड भए पनि क्षमताभन्दा बढी बिरामी राखेर उपचार भइरहेको छ । १५ बेड क्षमताको धुलिखेल अस्पतालमा २८ जना र शिर मेमोरियल अस्पतालमा सात जना सङ्क्रमित राखेर उपचार भइरहेको जिल्ला कमान्ड पोस्टका सदस्य सचिव रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचखालमा सात बेड र पनौती नगरपालिकामा छ बेडको आइसोलेसन कक्ष तयार गरेको छ । नमोबुद्ध नगरपालिकामा पनि १५ बेडको आइसोलेसन कक्ष तयार छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले यीबाहेक धुलिखेल अस्पताललाई थप ५० बेड र शिर मेमोरियल अस्पताललाई २० बेड क्षमताको आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको जानकारी दिनुभयो । धुलिखेल अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मी र एक सरसफाइ गर्ने कर्मचारीमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । साउन २९ गते चार बिरामी र एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि १२० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका थिए । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूले क्वारेन्टाइनमा बसेकामध्ये करिब ९० जनाको परीक्षण भएकोमा तीन स्वास्थ्यकर्मी र एक सरसफाइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।
विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा
दोलखा समाचारदाताका अनुसार जिल्ला समन्वय समिति दोलखाको सभा हलमा विदेशबाट आउने नागरिकका लागि सञ्चालित २० शøया क्षमताको होल्डिङ सेन्टरबाट करिब दुई महिनाको अवधिमा ६५ जनाले सेवा लिएका छन् । सेन्टरबाट छवटा मुलुकबाट आएका उनीहरूले सेवा लिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी २१ जना दुबईबाट र सबैभन्दा कम दुई जना बहराइनबाट आएका छन् । साउदी र मलेसियाबाट १५÷१५, कुवेतबाट आठ र कतारबाट चार जना रहेका छन् । सबैभन्दा बढी मेलुङका १५ जना र सबभन्दा कम सैलुङका चार जना रहेका छन् । सरकारको निर्णयानुसार जिल्लास्थित तारा दल गणले उनीहरूको सुरक्षा तथा रेखदेख गर्ने गरेको छ । सेवा लिने उनीहरूलाई स्थानीय तहलाई सम्पर्क गरी बुझाइने गरिएको छ । ग्रामीण उद्यम विकास केन्द्रले होल्डिङ सेन्टरका लागि २० थान बेड सेट, २५० थान मास्क, २५० एमएलको सेनिटाइजर १० थान उपलब्ध गराएको थियो ।






