कोरोना कोषमा सवा १३ करोड थप

  भदौ ०१, २०७७

काठमाडौँ, भदौ १ : कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नबिल बैङ्कले गरी १३ करोड २६ लाख ६१ हजार ३५० रुपियाँ हस्तान्तरण गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार नबिल बैङ्कले छ करोड, कृषि विकास बैङ्कले चार करोड १० लाख १० हजार ७५ र राष्ट्रिय वाणिज्य बैङ्कले दुई करोड ६९ लाख ९३ हजार १४५ रुपियाँ सहयोग प्रदान गरेका छन् । त्यस्तै डिप्रोक्स लघुवित्तले ४६ लाख ५८ हजार १२९ रुपियाँ प्रदान गरेको छ ।

रकम प्राप्ति समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले प्राप्त रकम सदुपयोग हुने विश्वास दिलाउनुभयो । उहाँले बैङ्कहरू प्रतिस्पर्धी हुँदा अर्थतन्त्रलाई नै सहयोग पुग्ने भन्दै केन्द्रीय बैङ्कको निर्देशनभित्र रहेर काम गर्न आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७-७८ मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक वर्ष २०७६-७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बैङ्क तथा वित्तीय संस्थाहरूले सोहीअनुरूप रकम सहयोग गर्दै आएका छन् ।

यसअनुसार अन्य चार वाणिज्य बैङ्कले पनि सरकारको कोरोना कोषमा सात करोड ६० लाख ४० हजार ६४४ रुपियाँ जम्मा गरेका छन् । नेपाल बैङ्कले तीन करोड ४६ लाख, सिद्धार्थ बैङ्कले दुई करोड ६७ लाख २८ हजार, प्रभु बैङ्कले एक करोड ३९ लाख र सनराइज बैङ्कले ७९ लाख ४४ हजार रुपियाँ हाराहारीमा उक्त कोषलाई रकम दिएका छन् ।

तपाईको प्रतिक्रिया