बरहथवा ‘इपी सेन्टर’, एकैपटक ४० जना सङ्क्रमित थपिए

  साउन ३२, २०७७

सर्लाही, साउन ३२ : सर्लाहीको बरहथवाका ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले साउन २५ र २६ गते ३०८ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाएको थियो ।

त्यसमध्ये आइतवार साँझसम्म ९६ जनाको रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको हो । सबै ३०८ जनाको रिपोर्ट आइसक्दा सम्म ठूलो सङ्ख्यामा सङ्क्रमित थपिने देखिएको छ ।

वीरगन्जको प्रयोगशालामा परीक्षण गराउँदा ३०८ मध्ये झण्डै दुई सय जनाको पोजिटिभ रिपोर्ट आएपछि वीरगन्जको ल्याबमै शङ्का गरी सम्पूर्ण स्वाब पुनः परीक्षणका लागि टेकु पठाइएको थियो । थपिएका ४० जना नयाँ सङ्क्रमितहरुमा वडा नं. १० का वडाध्यक्ष रामजिनिस साह, नेपाल टेलिकम र द–सहारा बैङ्कका एक÷एक जना कर्मचारी र विभिन्न वडाका स्थानीय वासिन्दा रहेका छन् ।

नगरपालिकाले यसअघि नै प्रत्येक वडाबाट स्थानीयवासी छनौट गरी परीक्षण गराउँदा समुदाय स्तरमै सङ्क्रमण पाइएको थियो । बरहथवामा अहिलेसम्म सय भन्दा बढी व्यक्तिहरुमा कोरोना सङ्क्रमण पुष्टी भइसकेको छ ।

थप व्यक्तिहरुमा सङ्क्रमण फैलन नदिन जिल्लाले गरेको निर्णय अनुसार सोमवारबाट सुरक्षाकर्मीहरुको सहयोगमा निषेधाज्ञाको पूर्ण पालना गराइने बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताउनुभयो । बजार क्षेत्र तथा मानिसको बढी भीडभाड हुने ठाउँहरुमा माइकिङ गरी अत्यावश्यक काम पर्दा बाहेक घरबाहिर ननिस्कन, निस्कनु पर्दा मास्कको प्रयोग गरी भौतिक दूरी कायम गर्न र औषधि पसल बाहेक बजारका अन्य पसल व्यवसाय बन्द गर्न आग्रह गरिने नगर प्रमुख महतोले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया