बागलुङ, साउन ३२ : जिल्ला व्यापीरुपमा लागु हुने गरी बागलुङमा आंशिक बन्दाबन्दी सुरु भएको छ । जिल्लामा शनिबार दुई जना जनप्रतिनिधि, एक जना खाजा पसल संचालक र एक जना क्वारेनटाइनमा रहेका व्यक्तिमा कोरोना पुष्टि भए पछि शनिबार राती १२ बजेदेखि लागु हुने गरी आंशिक बन्दाबन्दी घोषण गरिएको हो ।
कोरोना संक्रमण समुदाय स्तरमा फैलिए सक्ने सम्भावनालाई लक्षित गरी कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले मानिसहरुका चहल पहल र भिडभाड कम गर्न दुई पाङग्रे सवारी समेत गरी सार्वजनिक तथा निजी सवारी संचालनमा जोर विजोर प्रणाली लागु गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
जनप्रतिनिधि तथा खाजा पसल संचालक जनसम्पर्कमा रहेको आशंकमा कन्ट्याक ट्रेसिङ्गको लागि जिल्लाव्यापी रुपमा बन्दबन्दीको पहिलो चरण कार्यान्वयन थालेको प्रजिअ न्यौपानेले बताउनुभयो । शनिबार जिल्ला समन्वय समितिका प्रमुख, बडिगाड गाउँपालिका–६ का वडाध्यक्ष, धौलागिरी अस्पताल अगाडीको खाजा पसल संचालक र गल्कोट नगरपालिका–१ का एक जनामा संक्रमण पुष्टि भएको थियो ।
बडिगाड–६ का वडाध्यक्ष मौषम क्षेत्री सेवा प्रवाह, कोभिड व्यवस्थापनको लागि संचालन भएका भेला, बैठक तथा भेटघाटमा सहभागीता भएको हुँदा गाउँपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ भने जिल्लामा कडाई गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार खुल्ला स्थानमा मानिसहरुको भेला, भिडभाड तथा जुलुस, मठमन्दिरमा दैनिक पुजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधि संचालन, मेला महोत्सव तथा शैक्षिक संस्था संचालनमा रोक लगाइएको छ ।
बागलुङमा चैत्र यता पाँच हजार ७ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल जिल्लाका विभिन्न आईसोलेसनमा २१ जना संक्रमित उपचाररत रहेका छन भने २४५ जना कोरोना परास्त गरी घर फर्केका छन् ।






