काठमाडौं साउन, ३० : विदेशबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । यसैगरि आज शुक्रबार नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहाबाट २ सय ६३ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड १९ बाट समस्यामा परेका तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीले दूतावासमा नेपाल फर्कने फारम भरेर स्वदेश फर्किएका हुन् ।
साथै विभिन्न माध्यमबाट आफ्नो विवरण दर्ता गराउने क्रम दूतावासमा जारी छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार स्वदेश ल्याउने गरिएको कतार स्थित नेपाल दूतावासले जनाएको छ । आज नेपाल फर्किने नेपालीहरुलाई यात्रा सहजीकरणका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका अधिकारी तथा नेपाली समुदायका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।