जोखिम बढ्यो, स्थानान्तरण गर्देऊ भन्दा सुनुवाइ भएन : स्थानीय

  साउन ३०, २०७७

काठमाडाैँ, साउन ३० : सिन्धुपाल्चोक लिदी गाउँ अहिले शाेकमा छ । पहिरोका धेरै घटनाबारे स्थानीयले पूर्वानुमान गरेका हुँदैनन् तर लिदी गाउँकाले भने पहिरोको जोखिमबारे स्थानीय प्रशासनलाई जानकारी गराउँदागराउँदै पनि समयमै स्थानान्तरण नगर्दा यो विपत्ति आइलागेको छ ।

गाउँभन्दा माथिको जमिनमा धाँजा फाटेको भन्दै स्थानीयले बस्ती स्थानान्तरणका लागि पटकपटक प्रशासनसँग आग्रह गर्दैआएका थिए । तर समयमै बस्ती स्थानान्तरण नहुँदा दर्जनाैँ बेपत्ता छन् ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, लिदीका स्थानीयले पहिले नै असुरक्षित महसुस गरेका थिए । उनीहरूले आफूहरूको बस्ती अन्तै सार्न प्रशासनसँग पटकपटक आग्रह गरे, तर प्रशासनले चासो दिएन । अन्ततः बस्ती नै पहिरोले लग्यो ।

जुगल गाउँपालिका वडा नं २, गोल्चेका अध्यक्ष प्रताप लामाले गाउँ कार्यपालिकाको बैठकमा आफूले आफ्नो वडाको १४९ घर पहिरोको जोखिममा रहेकाले स्थानान्तरणको माग राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जिल्लामा पनि सीडीओलाई लगेर पनि स्थानान्तरणको मागको निवदेन दिएका थियौँ ।’

शुक्रबार बिहान साढे ६ बजेतिर गाउँभन्दा माथि खसेको पहिरोमा तीन दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ तर सकुशल भेटिनेमा स्थानीयले शङ्का गरेका छन् । ग्रामीण भेगमा सडकको उचित पहुँच नपुगेकाले उद्धारकर्मीसमेत समयमै नपुग्न सकेनन् ।

लिदीका स्थानीयले गाउँपालिकामा पुगेर करिब डेढ महिनाअघि पहिरोले लिदी गाउँ जोखिममा परी १४९ घरमा क्षति हुने सम्भावना रहेको भन्दै बस्ती सार्न आग्रह गरेका थिए । स्थानीयले गाउँको प्रायः ठाउँहरू धाँजा फाटेको, कति ठाउँ बगेको भन्दै पहिले नै असुरक्षित महसुस गरेका थिए । साउन २३ गते आठ जना स्थानीयले सदरमुकाम आएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा उनीहरूले जोखिमपूर्ण बस्तीको आवश्यक अध्ययन गरी आवश्यक प्रकृया अघि बढाउन अनुरोध गरेका थिए । माथिबाट पहिरोको डर र तल ब्रम्हायणी नदीमा निर्माण भइरहेको बलेफी ए जलविद्युत आयोजनाको कारणले बस्ती नै जोखिममा परेको उनीहरूले निवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया