समुदायमा कोरोना फैलने डरले ४० घर सिल

  साउन २९, २०७७

हेटौँडा, साउन २९ : कोरोना सङ्क्रमण बढ्न सक्ने आशङ्कामा मकवानपुरको बकैया गाउँपालिका-४ स्थित जुरेली गरगरेकाे शान्ति टोलका ४० घरलाई सिल गरिएको छ ।

बकैया गाउँपालिकाको अगुवाईमा गाउँलाई सिल गरिएको हो । कोरोना सङ्क्रमित युवती जुरेली गरगरे क्षेत्रमा हिँडेकाले सङ्क्रमण फैलिने त्रासले शान्तिटोल नै सिल गरिएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताउनुभयो ।

साउन २५ गते स्थानीय एक युवतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँ हेटौँडा-१ स्थित सहकारीमा काम गर्ने कर्मचारी हुनुहुन्छ । रक्षाबन्धनका बेला शान्ति टाेलस्थित घर गएकी युवती साउन २२ गतेमात्र हेटौँडा फर्कनुभएको पाइएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो ।

सिल गरिएका ४० घर परिवारमा करिब दुई सय जनाको बसोबास रहेको छ । उहाहरू सबैलाई एक अर्काको घर नजान सूचना र कडीकडाउ गरिएको गाउँपालिका जनाएको छ । सिल गरिएको क्षेत्रमा भिडभाड र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरमा दिनानुदिन कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ । हेटौँडास्थित एकमात्र आइसोलेसनमा समेत उपचार गर्ने ठाउँ नभएर सङ्क्रमितहरू घरमै बसेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

तपाईको प्रतिक्रिया