काभ्रे, साउन २९ : धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । सङ्क्रमण दर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको हो ।
बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले ओ.पी.डी, आकस्मिक कक्ष र वार्ड सहित संक्रमण फैलिएको आंशका भएकाले केही समय अस्पतालको सेवा बन्द गरी निसङ्क्रम गर्न आवश्यक देखिएकाले संक्रमणमुक्त नहुन्जेलसम्म अस्पतालको आकस्मिक सेवा मात्र सञ्चालन हुने जनाएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू, जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झालगायत स्थानीय जनप्रतिनिधि सम्मिलित बैठकले अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गर्दै अस्पतालको ५०० मिटरको दूरीसम्म अर्को सूचना जारी नभएसम्म बन्द्य गर्ने निर्णय गरेको हो । “अस्पताल क्षेत्र सिल गरिएसँगै अस्पताल वरपर व्यवसाय गर्नेलाई आइतबारदेखि घरमै बस्न लगाइएको छ”, प्रजिअ तिमल्सिनाले भन्नुभयो ।
९८ वर्षीय सङ्क्रमितको घर बजारमै रहेकाले धुलिखेल बजार बन्द गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । साथै वृद्धको वडा नं ७ स्थित निवासक्षेत्रको ५०० मिटर वरपरसमेत बन्द गरिएको छ । ती वृद्धकी एक बुहारी, अस्पतालका एक नर्स, दमक घर भई अस्पतालमा पित्तथैली उपचारार्थ भर्ना भएका एक बिरामी, अस्पताल छेउ व्यवसाय गर्ने एक तथा सङ्घीय प्रहरी कार्यालय बनेपाको जनागालका छ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको डा झाले बताउनुभयो ।
झाका अनुसार सङ्क्रमति वृद्धका परिवारका सदस्यले अस्पताललगायत समुदायका व्यक्तिसँग भेटघाट गरेको पाइएकाले ‘कन्ट्रयाक्ट ट्रेसिङ’ जारी छ । सङ्क्रमित व्यवसायीको घर वरपर २०० मिटरसमेत अर्को सूचना जारी नगरिएसम्म बन्द गरिएको जनाइएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित ६२ मध्ये २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ । साथै ३२ व्यक्ति आइसोलेशनमा उपचाररत छन् । तीमध्ये पनि २० प्रहरी, दुई स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, वैदेशिक रोजगारबाट फर्किएका २२ सर्वसाधाण र १८ कन्ट्रयाक्ट टेसिङ र अन्य कारणबाट सङ्क्रमित भएका हुन् ।
पोष्टका अनुसार हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८४५ शय्याको क्वारेन्टिनमा ९० पुरुष र १३ महिला बसेका छन् । नौ सय ४ पुरुष र १८५ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट ४२० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।
यसैबीच काभ्रेपलाञ्चोकमा पहिलो पटक मण्डनदेउपुर नगरपालिकाका वडाध्यक्षलाई ा कोरोना सङ्क्रमण देखिएको छ । केन्द्र र पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने चेतावनी दिएका छन् । साथै जिल्लाभित्र होटल र रेष्टुरेण्टमा सामूहिक भोज, गोष्ठी वा अन्य सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कारवाही गरिने चेतावनी दिइएको छ ।
बिहीबार साँझ एक प्रेस बिज्ञप्ति मार्फत अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले गत सोमबारदेखि बिहीबार सम्ममा चार बिरामी र एक उपचारमा सलग्न स्वास्थ्यकर्मी सहित पाँच जनामा कोरोना पोजेटिभ देखिएकाले करिब १२० डाक्टर र उपचारमा सलग्न स्वास्थ्यकर्मी एकान्तबास (क्वारेन्टाइन) बसेको जनाउनुभएको छ । बिज्ञप्ति मा एकान्तबासमा रहेका व्यक्तीहरुको नमूना संकलन गरी परीक्षण भैइरहेकाले सोको जानकारी सहित सेवा सूचारु सम्बन्धी अर्को सूचना साउन ३२ गते आइतबार प्रकाशन गर्ने जनाएको छ ।
कोरोना परीक्षण गर्दै आएको उक्त अस्पतालमा चैत २३ गते यता ११ हजार ४८ जनाको परीक्षण गरेको जनाएको छ । अस्पतालमा २१ जना कोरोना पोजेटिभ र छ जना अन्य बिरामी उपचारमा रहेका छन । अस्पतालले स–शुल्क कोरोना परीक्षण सुरु गरेको जनाएको छ ।






