काठमाडौं, साउन २९ : काठमाडौं उपत्यकामा विहीबार कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो तीन दिन यता लगातार एक सय जनाभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना गरी पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा १२७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । बिहीबार देशैभरि ५२५ जना नयाँ सङ्क्रमितको पुष्टि भएका थिए ।
पछिल्लो तीन दिनमा मात्रै काठमाडौं उपत्यकामा ३९९ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौंमा बुधबार १३८ र मंगलबार १३४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । बुधबार देशैभरि ४८४ र मंगलबार ६३८ जना सङ्क्रमित फेला परेको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकासहित देशैभरि एक हजार ६४७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये तीन सय ९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौं उपत्यकामा तीन दिनमा पुष्टि भएका सङ्क्रमित देशैभरिमा सङ्क्रमण पुष्टि भएकाहरुको २४.२२ प्रतिशत हो ।
गृह मन्त्रालयले काठमाडौंसहित देशैभरि बढ्दो सङ्क्रमणलाई लिएर आवागमन बन्द गर्ने निर्णय गरिसकेको छ । परिणामस्वरुप सार्वजनिक यातायात बन्द गरिएको छ । ७७ वटै जिल्लालाई सबारी पास जारी नगर्न निर्देशन दिइएको छ ।
सरकारी कार्यालयहरुमा ‘वर्क फ्रम होम’को अवधारणा ल्याइएको छ । अधिकांश सरकारी कार्यालयहरुले कार्यालयमा उपस्थित भई काम गर्नुपर्ने कर्मचारीको संख्यामा कटौती गरेको छ । जसले गर्दा काठमाडौं शहरको मुख्य बजार स्थलमा चहलपहल कम देखिएको छ ।
काठमाडौं उपत्यकामा बढ्दो सङ्क्रमणका बीच मुख्य बजार क्षेत्रका पसलहरु समेत स्वतः स्फूर्त बन्द गरिएका छन् । काठमाडौंमा पछिल्लो तीन दिनमा पुष्टि भएको सङ्क्रमित देशैभरि पुष्टि भएको तीन दिनको सङ्क्रमितको करिब २५ प्रतिशत हो ।
कुन प्रयोगशालाको परीक्षणमा कति सङ्क्रमित
काठमाडौं उपत्यकाको ११ प्रयोगशाला तथा हेटौंडास्थित कीटजन्य अनुसन्धान केन्द्रमा एक जना काठमाडौंका गरी बिहीबार १२७ जना सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–टेकुमा काठमाडौंका १३, हयाम्स अस्पतालमा काठमाडौंका नौ र ललितपुरका एक, शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा ललितपुरका दुई, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका तीन जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा काठमाडौंका ४८ तथा लतिपुरका एक, बीआईडीएच ल्याबमा काठमाडौंका चार, नेपाल–कोरिया मैत्री स्पतालमा काठमाडौंका सात र भक्तपुरका चार तथा स्टार अस्पताल–सानेपामा काठमाडौंका १९, ललितपुरका सात र भक्तपुरका एकमा कोरोनाभाइरसको सङ्क्रमित फेला परेका हुन ।
कीटजन्य अनुसन्धान केन्द्र, हेटौंडामा एक, धुलिखेल अस्पतालमा काठमाडौंका दुई वीर अस्पतालमा काठमाडौंका चार र सूर्या प्रयोगशाला लाजिम्पाटमा एकमा सङ्क्रमित पुष्टि भएको छ ।






