इनरुवा, साउन २९ : सुनसरीमा पछिल्लो केही दिन यता समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको छ । सुनसरी र मोरङको प्रदेश र निकास द्धारको रुपमा रहेको इटहरीमा समुदाय स्तरमा कोरोना सङ्क्रमित बढ्न थालेको छ । सर्वसाधारणकै अटेरीका कारण समुदायमा कोरोना फैलिएको दाबी गरिएको छ ।
समुदायमा कोरोना सङ्क्रमित भेटिन थालेपछि सम्बन्धित स्थानीय तहले आफ्नो पालिकामा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधिहरुको बैठकबाट निषेधाज्ञा गर्ने निर्णय गरे पनि अधिकांश व्यापारीहरुले निर्णय मानेका छैनन् । त्यो सँगै सर्वसाधरणहरु पनि लखर लखर प्रहरीको आँखा छल्दै हिँड्ने क्रम रोकिएको छैन ।
लकडाउन शुरु भएपश्चात् पनि सडक बजारमा भिडभाड बढेको भन्दै इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले गुनासो गर्नुभयो । सर्वसाधारण र व्यापारीले अटेर गर्दा कोरोना समुदायमा फैलिँदै गएको बताएकी हुन् । बारम्बार आग्रह गर्दा पनि अटेरीपन देखाउँदा समस्या बढ्दै गएको उपमेयरको भनाइ छ ।
इटहरीमा जारी लकडाउनमा सबै उद्योग कलकारखाना तथा व्यवसायिक प्रतिष्ठानहरु बाहिरबाट बन्द गरे पनि भित्री रुपमा खोल्दा थप जोखिम बढ्न थालेको छ । अहिले इटहरीमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । कोरोना परीक्षण गर्न पिसिआर दिएर पनि हिँड्नाले थप जोखिम बढाएको छ ।
इटहरीमा चिया पसलदेखि बैंक तथा वित्तीय संस्थाहरु भन्ने खुल्लै रहेको पाइएको छ । स्थानीय तहको लकडाउन गर्ने निर्णयको अबज्ञा गर्दै इटहरीका प्रायः बैंकहरुले कर्मचारी बोलाएर आफ्नो गतिविधि जारी राखेका छन् । कोरोना सङ्क्रमण रोक्न भन्दै गरिएको लकडाउनमा बैंकहरु खुल्लै रहदा बैँकमा कार्यरत कर्मचारीहरु भने उच्च जोखिममा परेका छन् ।
जिल्लाभर लकडाउन भई निषेधाज्ञा समेत जारी भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारी बोलाई आफ्नो गतिविधि जारी राखेका छन् । इटहरी उपमहानगरपालिकाले समेत वडा कार्यालयहरु खुल्ला गरेर काम गराइरहेको छ । आप्mनै निर्णय विपरित उपमहानगरले कर्मचारीलाई बोलाएर काम गराइरहेको पाइएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आएकी एक महिलामा कोरोना सङ्क्रमण देखिए पछि उनी बसेको बुद्ध चौकको एक होटल सिल गरिएको छ । उदयपुरबाट आन्द्राको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेकी २३ वर्षीय महिलामा बुधबार आन्द्राको अप्रेसन गर्नुपुर्व पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी बसेको होटल सिल गरिएको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताउनुभयो ।
बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बुद्ध चौकमा रहेको एक होटेललाई स्वास्थ्य सुरक्षाको हिसाबले सिल गरिएको र बिरामीलाई बीपीको आइसोलेसनमा भर्नाका लागि पठाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताउनुभयो ।
बुद्धचौक क्षेत्रको होटेलमा गएको साउन २१ गते देखि सङ्क्रमित महिला बसेको हुनाले होटेल सञ्चालकसहित ८ जनाको बिहीबार स्वाब लिएको छ । कोरोना सङ्क्रमित बसेका होटलसहित आसपासका ३ घरमा अहिले सेनिटाइज गर्नुको साथै सिल गरिएको वडाध्यक्ष राईले बताउनुभयो । सो क्षेत्रमा हिँड्डुलमा कडाइ गर्ने पनि बताइएको छ ।
उता धरान उपमहानगरपालिका ९ का २४ वर्षीय महिला वडासदस्यमा कोरोना पुष्टि भएको छ । उहाँको साउन २४ गते धरान १५ मा स्वाब संकलन गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । उता दुहबीमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि भएकाहरूमा दुहबी नगरपालिका वडा नं. ६ का ६७ वर्षीय महिला, वडा नं. १० का ४२ वर्षीय पुरुष छन् । त्यसैगरी, दंगा गण दुहबीका ३५ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशरप्रसाद महतोले बताउनुभयो ।






