पोखरामा शुरुभयाे होम क्वारेन्टाइन, कतै बिरोध कतै समर्थन

  साउन २८, २०७७

पोखरा, साउन २८ : आइतबार कोरोना संक्रमण पुष्टि भएका पोखरा एउटा वडा कार्यालयमा कार्यरत एक कर्मचारीलाई उनको परिवारले घरमै राखेर उपचार गर्न पाउनु पर्ने निवेदन गरे ।

प्रदेश कोरोना उपचार केन्द्र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको ४० शैया भरिएको र ति संक्रमितको स्वास्थ्य पृष्टभूमि उति जोखिमपूर्ण पनि नभएकोले अस्पतालले घरमै उपचार तथा सुरक्षि साथ रहन अनुमति दियो ।

अहिले उहाँ पोखरा २६ स्थित आफ्नै घरमा उपचाररत हुनुहुन्छ । उहाँका परिवार खुशी छन् तर त्यहि वडाका कतिपय बासिन्दाले सामाजिक संजालमार्फत यसको बिरोध जनाइरहेका छन् ।

अहिले ति कर्मचारीसँगै काम गर्ने अन्य कर्मचारी र केही छिमेकीको स्वाव संकलन कार्य जारी छ । उनिहरु भने आँफू वा आफ्ना परिवारलाई संक्रमण देखिएको खण्डमा उहाँ जसरीनै घरमै बसेर उपचार गर्नपाउनु पर्ने सर्त राखि रहेका छन ।

“घरमा परिवारको साथ हुन्छ, बिरामीको मनोबल पनि बलियो हुन्छ , त्यसैले छिटो निको हुन्छु झैंलाग्छ” पोखरा वडा नं २७ तालचोकका नवराज सापकोटाले भन्नुभयो । अस्पतालमा राख्दा बिरामीका कुरुवाले पनि असुरक्षित महसुस गर्नसक्ने अनुमान लगाउनु भयो उहाँले ।

बुढीबजारको घटना उदाहरण हो । अहिले पोखरामा संक्रमितको संख्या बढ्ने क्रममा छ । यहाँका संक्रमितका परिवार, टोल तथा समाजमा यस्ता घटना देखिन थालेका छन् । अस्पतालको आइसोलेसन बेडमा आफ्ना बिरामीको रेखदेख गर्न असुरक्षित महसुस भएको र घरमै राख्नपाउनु पर्ने भन्दै संक्रमितका परिवार स्वंयले माग गर्न थालेपछि, सुरक्षाका निश्चित मापदण्ड बनाएर केहि संक्रमितलाई घरमा बस्न दिइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

घर परिवार र समुदायको सुरक्षालाई विचार गरी गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले संक्रमितहरू अस्पतालनै भर्ना हुनुपर्ने नियम बनाएको थियो । तर संक्रमित स्वयं र उनका परिवारले असुरक्षित महसुस गरेको भन्दै केही दिनदेखि बिश्वस्वास्थ्य संगठनको मापदण्ड पूरा गर्ने नगर्ने संभावना यकिन गरेर मात्र प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्क्रमितलाई घरमै पनि बस्न मिल्ने अनुमति दिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन नवराज शर्माका अनुसार, गण्डकी प्रदेशको राजधानी पोखरामा मात्र अहिले करिव १० जना सङ्क्रमित होम क्वारेन्टाइनमा बसिरहेका छन् यस मध्य ६ जना होम क्वारेन्टाइनबाटै निको भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, सम्पक व्यक्तिको खोजीबाट संक्रमण पत्ता लागेकालाई उनिहरुका परिवारको आग्रहमा अन्यमानिसको सुरक्षा यकिन गरेर घरमै बस्न दिइएको हो ।

गण्डकीमा अहिलेसम्म १६ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्य करिव ८० प्रतिशत निको भइसकेका छन् । अहिले गण्डकी प्रदेशको मुख्य कोरोना उपचार केन्द पश्मिाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा ४० जना र साविक लेखनाथ सामुदायिक लायन्स अस्पतालमा बनाइएको प्रदेश सरुवा रोग अस्पतालमा १७ जना उपचाररत छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शैया भरिए पछि गएको आइतबारदेखि आजसम्म गरी १७ जनालाई उक्त सरुवा रोग अस्पतालमा लगिएको पनि फोकल पर्सन शर्माले बताउनुभयो ।
कोरोना संक्रमित बढ्दै गएको र बेडको अभाव हुन थालेपछि अत्यावश्क उपचारका अधारमा घरमै बस्न दिने वा अस्पताल ल्याउनै पर्ने भन्ने मापदण्ड बनाउनु परेको पनि शर्माले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया