काठमाडौं, साउन २८ : संयुक्त अरब इमिरेट्ससस ( यूएई) बाट करिब अढाई महिनाको अवधिमा स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका १३ हजार ७८५ जना नेपाली स्वदेश फर्किएका छन् ।
अबुधाबीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै उक्त कुरा जानकारी गराएको हो । साथै, यो अवधिमा भएको उडानमा २६ वटा शव पनि स्वदेश पठाएको दूतावासले जनाएको छ ।
कोरोनाका कारण नियमित अन्तराष्ट्रिय उडान बन्द भएको अवस्थामा नेपाल फर्कनै पर्ने नेपालीलाई जुन महिनादेखि नेपाल सरकारले चार्टर उडानको व्यवस्था गरेको थियो ।
दुतावासले नेपाल फर्कने अवस्थामा रहेका नेपालीको विवरण संकलन २८ अप्रिलदेखि अनलाइन रजिष्टेसन फाराम खुला गरेको थियो । उक्त रजिष्टेसन फाराम भर्नेको संख्या हाल सम्म ४२ हजार पुगेको छ । यसका अतिरिक्त राजदूतावासको ईमेल र टेलिफोनमार्फत् नेपाल फर्किन नाम टिपाउनेहरुको संख्या करिब पाँचहजार हाराहारीमा रहेको दूतावासको भनाइ छ ।
नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमाएका, विद्यार्थी, रोजगारी गुमाएका लगायतका व्यक्तिहरुलाई नेपाल फर्काउने क्रम जारी छ । साथै, गत मार्च ११ देखि ११० जना नेपाली नागरिकले यूएईमा ज्यान गुमाएको छ ।
प्राकृतिक मृत्यु, कोरोना संक्रमण, आत्महत्या, दुर्घटना, हत्या आदिबाट मृत्यु भएका छन् । यसस क्रममा २६ वटा शव नेपाल पठाइएकोमा चार शव पठाउने क्रममा रहेको दूतावासले जानकारी दिएको छ । साथै, ६९ जनाको शव यूएईमा दाहसंस्कार गरिएको छ भने बाँकी ११ वटा शवको विस्तृत रिर्पोट प्राप्त गर्ने प्रक्रियामा रहेको छ ।