नेपालगञ्ज, साउन २७ : सङ्क्रमित थपिने क्रम नरोकिएपछि बाँके जिल्लामा लगाइएको निषेधाज्ञा तीन दिन थप गरिएको छ । तर, नेपालगञ्जको भित्रि भागलाई गरिएको सिल भने हटाईएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार सङ्क्रमण बढ्दै गएकोले गत दस दिनदेखि बाँके जिल्लामा लगाईएको निषेधाज्ञालाई तीन दिन थप गरेर साउन ३० गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरिएको छ ।
उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा मंगलबार अपरान्ह बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बाँके जिल्लामा साउन ३० गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गर्दै सेना परिचालन गरेर सिल गरिएको क्षेत्रहरुको सिल हटाईएको बताउनुभयो ।
यसअघि नेपालगञ्जका भित्रि भागहरुमा गत शनिबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्मका लागि नेपाली सेना परिचालन गरेर पूर्ण रुपमा सिल गरिएको थियोे । सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सिल गरिएको निर्णय फिर्ता गरिएको जनाउँदै तर जिल्ला भरी थप तीन दिन निषेधाज्ञा जारी रहने बताउनुभयो ।
जिल्ला प्रशासनका अनुसार दसदिनदेखि लगाइएको निषेधाज्ञा र तीनदिनदेखि गरिएको सिलका कारण जिल्लाको जनजीवन अस्तव्यस्त हुनुका साथै अधिकांश गरिब र मजदुरहरु भोकै बस्नुपरेको अवस्था सिर्जना भएको गुनासो आएको छ । तर, नेपालगञ्जमा भने ठूलो संख्यामा सङ्क्रमितहरु फेला पर्ने क्रम दिनदिनै जारी रहेकाले निषेधाज्ञा थप्नु परेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
उता, मंगलबार पनि बाँकेमा एक चिकित्सक र बैंकका २० जना कर्मचारीसहित २६ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज मेडिकल कलेजका एक चिकित्सक र एक निजी बैंकका २० जना कर्मचारीसहित २६ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्ज, कोहलपुर र आसपासका गाउँपालिकासहितका २६ जनामा कोरोना सङ्क्रमण देखाएको छ । भेरी अस्पतालले मंगलबार दिउँसो १२ बजे सार्वजनिक गरेको विवरण अनुसार बाँकेका २६ जनासहित विभिन्न जिल्लाका ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि सोमबार पनि दुईजना चिकित्सक र एक नर्स गरेर १६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा हालसम्म ६५७ जनामा कोरोना भाइरसको सङ्क्रमण फेला परेको छ । ती मध्ये ४०५ जना निको भएर घर फर्किसकेका छन् ।
अहिले पनि २४९ जनाको विभिन्न आइसोलेसन अस्पताल र सेन्टरमा राखेर उपचार भैरहेको सो कार्यालयले जनाएको छ । सिल गरिएपछि सुनसान देखिएको नेपालगञ्जको सदरलाइन क्षेत्र ।






