मलङ्गवा नगरपालिकाका दुई इन्जिनियरसहित २१ मा कोरोना संक्रमण

  साउन २६, २०७७

सर्लाही, साउन २६ : सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकामा कार्यरत दुई जना इन्जिनियरसहित २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

नगरपालिकाको वडा नं. १० र ११ मा घर रहेका सिभिल इन्जिनियर र उर्जा इन्जिनियरमा सङ्क्रमण पुष्टी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

मलङ्गवाबाट गत सुक्रवार १३९ जनाको थ्रोट स्वाब सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमध्ये २१ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

सङ्क्रमित दुबै इन्जिनियरलाई तत्काल आ–आफ्नो घरमै आइसोलेटेड भई बस्न भनिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभएको छ ।

कोरोना महामारीकै बीच सेवामा खटिने नगरका कर्मचारी, स्वास्थ्यकर्मी, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको थ्रोट स्वाब लिएर परीक्षण गराइरहेको मलङ्गवा नगरपालिकाले जनाएको छ ।

सोमबार थपिएका २१ जना समेत गरी सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । जिल्लाका विभिन्न पालिकाहरुले पछिल्ला दिनमा कोरोना परीक्षणको दायरा बढाउँदै लगेका छन् ।सोमबार मात्रै उत्तरी भेगको लालबन्दी नगरपालिकाले १२३ जनाको थ्रोट स्वाब लिएको छ ।

आइसोलेसनमा बसिरहेका दुईजना सङ्क्रमितसहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयका कर्मचारीहरुको स्वाब लिई परीक्षणका लागि बाग्मती प्रदेश सरकारले हेटौंडामा सञ्चालन गरेको प्रयोगशालामा पठाइएको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यस्तै, हरिवन नगरपालिकामा पनि सोमवार साँझसम्म थ्रोट स्वाब सङ्कलनको काम जारी छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, व्यापारी र भीडभाडमा रहेर काम गरेकाहरु समेत गरी करिब चारसय जनाको स्वाब लिने योजना रहेको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया