बुटवल, साउन २६ : कोरोनामुक्त हुने अन्तिम चरणमा पुगेर पनि फेरि जोखिम देखिएको प्रदेश ५ का विभिन्न जिल्लाहरुमा फेरि कडाई गर्न थालिएको छ । लकडाउन खुकुलोसँगै फेरि उच्च चोखिममा परेका बांके,रुपन्देही लगायतका जिल्लाहरुमा जिल्ला प्रशासन र स्थानीय सरकारहरुले कडाई गर्दै उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।
समुदायस्तरमै सङ्क्रमण देखिन थालेपछि रुपन्देहीमा जिल्ला संकट व्यवस्थापन केन्द्रले बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म पसल खुल्ला गर्ने निर्णय गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेश पन्थका अनुसार जिल्लामा बेलहिया बाहेकका सबै नाकाहरुमा आवतजावतमा पूर्ण रोक लगाइएको छ ।
केन्द्रको बैठकले शंकास्पद व्यक्तिलाई राख्न प्रत्येक पालिकामा क्वारेन्टाईन व्यवस्थापन गर्न निर्देशन दिएको छ । यस्तै जिल्लाका कुनै पनि स्थानमा हाट बजार सञ्चालन गर्न रोक लगाईएको छ ।
प्रजिअ पन्थले बढी भिडभाड हुने, भेला, सम्मेलन, भोज भतेरलगायतका कार्य नगर्न नगराउन पनि संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको बताउनुभयो ।






