एउटै कार्यालयका ३० प्रहरीसहित बाँकेमा ४८ जना सङ्क्रमित थपिए

  साउन २५, २०७७

नेपालगञ्ज, साउन २५ : पछिल्लो समयमा समुदायमा कोरोना तीव्र गतिमा फैलिएपछि नेपालगञ्जमा सङ्क्रमित बढ्ने क्रम निरन्तर जारी छ । नेपालगञ्जको वडा प्रहरी कार्यालयका प्रमुखसहित ३० जना प्रहरी, उनका केही आफन्त र अन्य गरेर बाँकेमा आइतबार थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले आइतबार पुष्टि भएका ४८ जनामध्ये ४६ जना नेपालगञ्ज उपमहानगरपालिकाका र दुईजना कोहलपुरको रहेको जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले वडा प्रहरी कार्यालयका छ जना प्रहरीलाई यसअघि नै सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरूको खोजी गरेर परीक्षण गर्दा ३० जना प्रहरीसहित वडामा स्वाब दिएकामध्ये ४३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँले वडा प्रहरी कार्यालय गत चार दिनदेखि सिल नै रहेको जनाउँदै एकै दिन यति धेरै जना प्रहरीमा सङ्क्रमण पुष्टि भएपछि केही दिन अझै सिल रहने बताउनुभयो । दिनरात जनताको सम्पर्कमा रहने वडा प्रहरी कार्यालयका ३६ जना प्रहरीहरू सङ्क्रमित भएर आइसोलेसनमा गएपछि थप सुरक्षाकर्मी मगाएर नगरमा परिचालन गर्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आइतबार थप भएका सङ्क्रमितसहित बाँकेमा कुल सङ्क्रमितको सङ्ख्या ६१७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये चार सय दुई जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । हाल २१७ जना आइसोलेसनमा रहेका छन् । भाइरस सङ्क्रमण बाट बाँकेमा यसअघि नै दुई जनाको मृत्युसमेत भएको थियो ।

सङ्क्रमितको सङ्ख्या बढ्दैगएपछि गत एक सातादेखि जिल्लामा निषेधाज्ञा लगाइएको छ भने शनिबार रातिदेखि नेपालगञ्ज सहरको भित्री भागलाई सेना परिचालन गरेर तीन दिनका लागि सिल गरिएको छ ।

तपाईको प्रतिक्रिया