सोलु खोलामा पानीको सतह बढ्याे, सेतो पोखरी फुटेको आशङ्का

  साउन २४, २०७७

सोलुखुम्बु, साउन २४ : सोलु दूधकुण्ड नगरपालिका–१ र २ को सिमानामा रहेको शेर्पा भाषामा चोकर्मा भनिने सेतो पोखरी फुटेकाे आशङ्कामा खोला किनारमा बस्ने स्थानीय त्रसित बनेका छन् ।

शुक्रबार बिहानैदेखि अचानक सोलु खोलामा पानीको सतह बढेपछि नुम्बुर हिमालको काखमा रहेको दूधकुण्ड पोखरी फुटेको अनुमान गर्दै खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरिएको थियो ।

खोलामा पानीको सतह बढेपछि अवस्था पहिचानका लागि दावा शेर्पासहितको एक टोली दूधकुण्ड क्षेत्रमा गएपछि चोकर्मा फुटेको बताएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर जाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो । ‘चोकर्मा क्षेत्रमा रहेको ताल फुटेको खबर छ । फुटेको तालको आधा पानी बाहिरिँदा सोलुखोलामा पानीको सतह बढेको हो ।’ मेयर शेर्पाले भन्नुभयो ।

दूधकुण्डकै आकारमा रहेको सो पोखरी पुरै फुटे खोला किनारमा रहेको बस्ती प्रभावित बन्न सक्ने जोखिम कायमै रहेको उहाँको भनाइ छ । मौसम अनकूल हुनासाथ तालको अवस्थाबारे बुझ्नका लागि हेलिकप्टरमार्फत जाने तयारी गरेको मेयर शेर्पाले बताउनुभयो ।

लेदोसहितको पानीको सतह बढेपछि माथिल्लो क्षेत्रमा ताल फुटेको हुन सक्ने आकलन गरिएको थियो । खोलामा पानीको सतह बढेपछि सस्रवेनीमा रहेको काठको पूलमा क्षति पुगेको छ । सदरमुकाम सल्लेरीदेखि करिब ३० कोष उत्तरपूर्वमा रहेको दूधकुण्ड पुग्न करिब दुई दिन लाग्छ । त्यस क्षेत्रमा करिब दर्जन बढी साना ठूला ताल रहेका छन् ।

दूधकुण्ड क्षेत्रमा रहेका स्थानीयका अनुसार पोखरी फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको र पोखरी पूर्ण रुपमा फुट्ने खतरा उच्च रहेको छ । पोखरीको वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयले उच्च सतर्कता अपनाउनुपर्ने स्थानीयको भनाइ छ ।

पोखरी फुटेको खबर प्राप्त भएपनि आधिकारिक पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले बताउनुभयो । सोलुखोलामा पानीको बहाव उच्च हुँदा केही क्षेत्रमा नदीको पानी बस्तीमा समेत प्रवेश गरेको बताइएको छ ।

अहिले पानीको बहाव केही मात्रमा कम भएपनि जोखिम कायम रहेकाले खोला किनारका स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ । सोलुखोलाको मुहान क्षेत्रमा पर्ने सस्रबेनीमा रहेको एउटा चौरीगोठ तथा तीन वटा काठे साँगुसमेत बगाएको खबर आएको र थप क्षतिको विवरण सङ्कलन हुने नगरपालिकाले जनाएको छ । पोखरी क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन ।

पूरै ताल फुटेर पानीको सतह धेरै माथि आएमा सोलुखोलामा निर्माणाधीन तीन वटा हाईड्रोपावरमा क्षति पुग्छ भने अन्य केही बस्ती विस्थापित हुन सक्छ ।

तपाईको प्रतिक्रिया