मौरिससमा वातावरणीय सङ्कटकाल घोषणा

  साउन २४, २०७७

काठमाडौँ, साउन २४ : टापु राष्ट्र मौरिससले ‘वातावरणीय सङ्कटकाल’ घोषणा गरेको छ । तटीय क्षेत्रबाट छुटेको एक पोतबाट इन्धन चुहिन थालेपछि वातावरणीय सङ्कटकालको घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जुलाइ २५ मा सयौँ टन इन्धन लिएर हिन्द महासागरमा छुटेको ठूलो आकारको एमभी वाकासिओ पोत चुहिन गएको हो । जापानी एक कम्पनीको स्वामित्व रहेको उक्त पोत पनामामा दर्ता गरिएको छ ।

सतहबाट समुद्रको यात्रा गर्न लाग्दा उक्त पोत खाली गरिएको बताइए पनि करिब चार हजार टन इन्धन मौज्दात रहेको बीबीसीले उल्लेख गरेको छ । फ्रान्सले सहयोगको आश्वासन दिएको छ । जहाज धनीले चुहावट रोक्न प्रयासरत रहेको जनाएको छ ।

मौरिससका प्रधानमन्त्री प्रविन्द जुग्नौथले शुक्रबार अबेर वातावरणीय सङ्कटकालको घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामीसँग सहयोग गर्नुपर्ने अवस्थामा रहेको पोतका लागि दक्ष र विज्ञ मौरिससमा छैन ।” उहाँले सहयोगका लागि फ्रान्ससँग आग्रह गर्नुभएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जैविक विविधता नष्ट हुनुपूर्व नै सक्रिय हुन आवश्यक देखिएको प्रतिक्रिया दिनुभएको छ । उहाँले आफू मौरिससका जनतासँगै रहेको र छिट्टै सहयोग गर्ने वचन दिनुभएको छ । मौरिससस्थित फ्रान्सेली दूतावासले प्रदूषण नियन्त्रणको उपकरणहरू सैन्य हेलिकप्टरबाट समुद्रमा लग्ने तयारी भइरहेको जनाएको छ ।

समुद्री प्रदूषणबाट हजारौँ प्रजातिका जीवजन्तु जोखिममा पर्नुका साथै मौरिससको आर्थिक अवस्था, खाद्य सुरक्षा र स्वास्थ्यसँग जोडिएको छ । सन् १९६२ मा बेलायती औपनिवेशबाट मुक्त भएको मौरिससको जनसङ्ख्या करिब १३ लाख रहेको छ । मौरिसस पर्यटनका लागि विश्वकै एक प्रमुख गन्तव्य हो ।

तपाईको प्रतिक्रिया