अस्पताल निर्माण गर्न आएका थप १३ मजदुरमा कोरोना सङ्क्रमण

  साउन २४, २०७७

गल्कोट, साउन २४ : अस्पताल भवन निर्माणको लागि बागलुङ आएका थप १३ जना मजदुरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धौलागिरि अस्पताल बागलुङको ‘सि’ ब्लक भवन निर्माणको लागि मोहत्तरीदेखि आएका मजदुरमा कोरोना पुष्टि भएको हो । यसअघि २५ वर्षीय एक जना पुरुष मजदुरमा कोरोना पुष्टि भएपछि धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

सँगै काम गर्ने साथीलाई कोरोना पुष्टि भएपछि थप १३ जनालाई क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको शुक्रबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण पुष्टि भएको धौलागिरि अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो ।
भवन निर्माणको लागि साउन १३ गते महोत्तरीबाट १८ जना कामदारहरू बागलुङ आएका थिए । बागलुङ आएलगतै कोरोना परीक्षण गर्दा एक जनालाई सङ्क्रमण पुष्टि भएको थियो भने अन्य १७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

सङ्क्रमित युवासँगै बसेका कारण १७ जनाको पुनः परीक्षण गर्दा ३०, २१, ३०, २२, २२, ३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्षका १३ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी गौतमको भनाइ छ । सङ्क्रमित १३ जनालाई आइसोलेसन कक्षमा लैजानी तयारी गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया