विमान दुर्घटनामा परी भारतमा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

  साउन २४, २०७७

कोझिकोड, साउन २४ : भारतमा विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको सङ्ख्या १८ पुगेको छ । सरकारी अधिकारीहरूका अनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् ।

एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले बताउनुभयो । शुरुमा १७ जनाको मृत्युको खबर आएपनि घाइतेमध्ये थप एक जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या १८ पुगेको हो ।

मृतकमध्ये एक जनाबाहेक अन्य सबैको शव चिन्न नसकिने गरी जलेर नष्ट भएको पनि घटनास्थलमा पुगेकाहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।

घटनामा परी विमान चालक दीपक साथे र उहाँका सहचालक अखिलेश कुमारको पनि मृत्यु भएको छ । विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए । घाइतेहरूलाई उपचारका लागि क्यालिकट तथा मलापुरममा रहेका अस्पतालहरूमा पुर्याइएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएपछि संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र परेका भारतीय नागरिकहरू स्वदेश ल्याउँदैगरेको विमान दुर्घटनामा परेको हो । युएइको दुबईबाट शुक्रबार राति भारत आउँदैगरेको विमान अवतरण गर्ने बेलामा अत्यधिक वर्षाका कारण धावनमार्ग चिप्लो भएकाले धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक विवरण छ ।

वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए भने दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको हो । दुर्घटना स्थानीय समयानुसार शुक्रबार बेलुका ७।४० मा भएको हो ।

सरकारी अधिकारीहरूले ठूलो वर्षा भइरहेका बेला विमान धावनमार्गमा ठोक्किएको र त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेर दुई टुक्रा जनाएका छन् । दर्दनाक दुर्घटना भएको थाहा पाउनेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनामा प्रियजन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले छानबिन गर्ने जानकारी दिनुभएको छ । भारतमा वर्षा याममा धेरै विमान दुर्घटनामा पर्ने र सयौँको मृत्यु हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया