सार्कका माध्यमबाट क्षेत्रीय सहयोग तीव्र पार्न सकिने

  साउन २४, २०७७

काठमाडौँ, साउन २४ : अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन सकिने बताउनुभएको छ । त्यसका लागि समान भाषा र संस्कृति भएका नेपाल, भारत, बङ्गलादेश र भुटान बीचको उपक्षेत्रीय एकाइ महŒवपूर्ण हुनसक्ने पनि उल्लेख गर्नुभयो ।

नेपालमा आफ्नो सात वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले अर्थमन्त्रीसँग शुक्रबार गर्नुभएको बिदाइ भेटमा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकाले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताउनुभयो ।

मन्त्री खतिवडाले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाइँ सराइ, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापनजस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्रीले कोभिड–१९ ले ल्याएको चुनौती र अवसरलाई ध्यानमा राखी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आह्वान गर्नुभयो ।

नेपाल र बङ्गलादेश बीच द्विपक्षीय व्यापार, ऊर्जा र लगानीका विविध आयाममा सहकार्य भइरहेको र प्राकृतिक, मानव संसाधनलगायत स्रोतबाट दुवै देश सम्पन्न भएकाले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने विचार व्यक्त गर्नुभएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल र बङ्गलादेशले अति कम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै अर्थमन्त्री खतिवडाले बङ्गलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले नेपालले पनि धेरै विषयलाई आत्मसात गरी आर्थिक विकासको गति अघि बढाइरहेको जानकारी दिनुभयो ।

लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोबाइल बैङ्किङको विस्तारमा नेपालले बङ्गलादेशबाट धेरै सिकेको उल्लेख गर्दै राजदूत साम्सको नेपालको कार्यकाल सफल रहेकामा खुसी व्यक्त गर्नुभयो ।
राजदूत साम्सले बङ्गलादेश र नेपाल क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबीच व्यापार, ऊर्जा सहयोग, लगानीलगायत क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारका माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताउनुभयो । वातावरणीय संवेदनशीलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा संवादजस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै राजदूत साम्सले नेपाल–बङ्गलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।  

तपाईको प्रतिक्रिया