चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने

  साउन २४, २०७७

काठमाडौँ, साउन २४ : आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा एक महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् ।

चालू आर्थिक वर्ष २०७७-७८ मा नै सो कार्य प्रारम्भ गरिने नेपाल आयल निगमले जनाएको छ । हाल नेपालमा पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनलाई पुग्ने भण्डारण क्षमता छ । त्यसलाई वृद्धि गरी पहिलो चरणमा कम्तीमा एक महिनालाई पुग्ने भण्डारण क्षमता बढाउन लागिएको हो ।

निगमले वार्षिक नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको भण्डारणलाई उच्च प्राथमिकतामा राखेको छ । सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ ।

भण्डारण गृह निर्माणका लागि निगमले यसअघि नै जग्गा खरिद गरिसकेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्याय भन्नुहुन्छ, “सर्लाहीमा एलपी ग्यास, झापामा पेट्रोलियम पदार्थ र एलपी ग्यास, चितवनमा पेट्रोलियम पदार्थको भण्डारण गृह बनाइने छ । त्यसका लागि जग्गा निगमले पहिल्यै लिइसकेको छ, निगमकै जग्गामा बनाउने हो ।”

निगमका अनुसार नेपालगञ्जमा रहेको निगमको जग्गामा पेट्रोल पम्प तथा झापा र धनुषामा रहेको जग्गामा ग्यास बोटलिङ प्लान्ट निर्माण कार्य यसै वर्ष सुरु गरिने छ । देशका अन्य स्थानमा पेट्रोल पम्प तथा ग्यास बोटलिङ प्लान्ट निर्माण तथा सञ्चालन गर्न जग्गा व्यवस्थापनलगायतका आवश्यक प्रक्रिया सुरु गरिने भएको छ ।

चन्द्रगढी, जनकपुर र दाङको विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गरिने छ । हाल सञ्चालनमा रहेका डिपोहरूको क्षमता विस्तार गरिने प्रवक्ता उपाध्यायको भनाइ छ । उहाँका अनुसार न्यूनतम मौज्दात राख्नुपर्ने मट्टीतेलभन्दा बढी क्षमताका मट्टीतेल भण्डारण ट्याङ्करलाई पेट्रोल÷डिजेलको ट्याङ्करमा रूपान्तरण गरिने छ ।

हाल सञ्चालनमा रहेका इन्धन डिपो तथा हवाई इन्धन डिपोहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भए÷नभएको यकिन गरी पुनर्संरचना गरिने भएको छ । प्राविधिक अवस्थाको यकिन गर्ने र सुरक्षा तथा वातावरणीय स्थितिको आकलनका आधारमा रिइन्जिनियरिङ गरी आधुनिकीकरण गरिने भएको छ ।  

तपाईको प्रतिक्रिया