नेकपाका दुई अध्यक्षबीचको वार्ता अन्यौलमा

  साउन २२, २०७७

काठमाडौँ, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता र संवाद पुनः अन्यौलमा परेको छ । बुधबार साँझ ५ बजेका लागि तय भएको वार्ता बिहीबार बिहानका लागि सारिएको भनिए पनि बिहान वार्ता हुन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक बिहीबार बिहान बस्ने जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंकाअनुसार वार्ताका लागि कुनै सूचना प्राप्त भएको छैन । पार्टीको आन्तरिक मतभेद अन्त्य गर्नेगरी दुई अध्यक्षबीच वार्ता जारी रहे पनि सहमति बनिसकेको छैन ।

पार्टीको स्थायी कमिटी बैठक पनि अन्यौलमा छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएर समस्याको समाधान खोजिनुपर्ने प्रस्ताव राख्दैआउनुभएको छ । अर्का अध्यक्ष प्रचण्डले जारी स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने अडानमा हुनुहुन्छ । दुई अध्यक्षबीचको यही अडानका बीच सहमतिको प्रयास जारी रहेको नेताहरूले बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले वार्ताको लागि अहिलेसम्म सूचना प्राप्त नभएको जानकारी दिनुभयो । पछिल्लो समय दुई अध्यक्षले एक–एक जना सहयोगी नेता लिएर वार्ता गर्दैआउनुभएको छ । अध्यक्ष ओलीको तर्फबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ र अर्का अध्यक्ष प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुँदैआउनुभएको छ । 

तपाईको प्रतिक्रिया